२९ आश्विन २०८३, बिहिबार

खुम्बुमा एक महिनामा छ हजार ८ सय बढी पर्यटक, सबै भन्दा बढी अस्ट्रेलियाबाट आए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

turist-nepalसोलुखुम्बु, १६ कात्तिक । विसं २०७१ को असोज महिनामा छ हजार ८१० जना विदेशी पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् ।

सगरमाथा राष्ट्रिय निकुञ्जको प्रवेशद्वार जोरसल्लेबाट छ हजार ७५३ जना, स्याङ्बोचे चेकपोष्टबाट ४६ जना र राष्ट्रिय निकुञ्जको कार्यालयबाट ११ जना गरी कुल छ हजार ८१० पर्यटक खुम्बु क्षेत्र प्रवेश गरेका हुन् ।

कार्यालयको तथ्याङ्कअनुसार खुम्बु क्षेत्र भ्रमणमा आउने विदेशी नागरिकमध्ये सबैभन्दा बढी अस्ट्रेलियाका ९५० जना, अमेरिकाका ७५२ जना र तेस्रोमा जर्मनीका ७२२ रहेका छन् ।

असोज महिनामा भ्रमणमा आएकामध्ये १० वर्ष मुनिका १० जना बालबालिकाले निःशुल्क प्रवेशाज्ञा पाएका थिए । असोज महिनाको एक महिने तथ्याङ्कमा सार्क क्षेत्रबाट भने भारतबाट २०५, श्रीलङ्काबाट छ र बङ्गलादेशबाट १० जना आएका थिए । अघिल्लो वर्षको असोज महिनामा भने छ हजार ४६२ विदेशी नागरिकले भ्रमण गरेका थिए ।

यसैबीच गएको असोज महिनामा सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले एक करोड ६१ लाख ४० हजार ७१३ रुपैयाँ ६० पैसा राजस्व सङ्कलन गरेको छ । मालिङ्गो पुर्जी, बालुवा, हेली अवतरण, पर्यटन प्रवेश शुल्क, पर्यटन भरिया शुल्कलगायतबाट यो राजस्व सङ्कलन भएको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेका सहायक संरक्षण अधिकृत लक्ष्मण पौडेलले जानकारी दिनुभयो । रासस