काठमाडौं, १६ कात्तिक । मेगा बैंक नेपाल लिमिटेड, स्थानीय पुर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) बीच त्रिपक्षीय सम्झौता भएको छ ।
मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह, डोलिडारका महानिर्देशक जीवनकुमार श्रेष्ठ र आइएलओका निर्देशक जोश असालिनोले सम्झौतापत्रमा सम्झौता गर्नुभयो ।
नेपाल सरकार र विश्व बैंकले आगामी ५ बर्षका लागि ३३ जिल्लामा डोलिडारमार्फत संचालन गरेको राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम (एसएनआरटीपी) मा सम्बद्ध पक्षहरुलाई सहयोग पुर्याउने उद्देश्यले यो सम्झौता गरिएको हो । डोलिडारको यस कार्यक्रम अन्र्तगत ३ हजार ३ सय ११ किलोमिटर ग्रामीण सडक निर्माण गर्ने उद्देश्य लिइएको छ । जसमा १५ सय कामदार संलग्न हुने बताइएको छ । ग्रामीण सडक निर्माणमा संलग्न तिनै कामदारलाई सहज रुपमा आर्थिक सेवा प्रदान गर्नुका साथै उद्यमशिलताको विकासका लागि मेगा बैंक, डोलिडार र आइएलओबीच यो सम्झौता भएको हो ।
मेगा बैंकका सिइओ अनिलकेशरी शाहले यस सम्झौता अनुसार मेगाका शाखा रहेका क्षेत्रका सडक निर्माणमा संलग्न कामदार एवं साना मझौला व्यवसायीलाई वित्तीय सेवा विस्तार गरिने जानकारी दिनुभयो । मेगा बैंकले आर्थिक पिरामिडका हरेक पक्षलाई सहयोग गर्ने उद्देश्यले यसअघि नै मेगा माइक्रो बैंकिङ नामक छुट्टै युनिट बनाएर साना मझौला व्यवसायी तथा कम आय भएका समूहमा साना कर्जा तथा बचत परिचालन गरिरहेको उहाँले जानकारी दिनुभयो । मेगा बैंकका अहिले २८ वटा शाखा छन् । त्यसैगरी, ४८ वटा शाखारहित बैंकिङ सेवामार्फत बैंकले ग्रामीण क्षेत्रमा सेवा पुर्याइरहेको छ ।















प्रतिक्रिया