२ कार्तिक २०८३, सोमबार

बारा र पर्साका बाढीपीडितलाई हिमानी आफैले वितरण गरिन् राहत

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिमरा, ८ भदौ । पूर्वयुवराज्ञी हिमानी शाहले बारा र पर्साका बाढी प्रभावित पाँच सय घरपरिवारलाई बुधवार राहत वितरण गर्नुभएको छ ।

छोरा हृदयन्द्र र छोरी कृतिका शाहका साथ हवाई मार्ग हुँदै बारा आउनु भएकी हिमानीले भलुवी, रजकटिया, त्रिवेणी स्थानका दुई ५० घर परिवारलाई राहत वितरण गर्नुभएको हो ।

हिमानी ट्रष्टकी अध्यक्ष पूर्वयुवराज्ञी शाहले चामल, दाल, चिउरा, चिनी, नुन, तेललगायतका खाद्यान्न र त्रिपाल वितरण गर्नुभएको छ ।

कडा सुरक्षाका बीच आयोजना गरिएको कार्यक्रममा राहत लिन बाढी प्रभावित स्थानीयको भिड लागेको थियो । हिमानीले आफूसंगै छोरा र छोरीलाई राहत वितरण गर्न लगाउनु भएको थियो ।

पूर्वयुवराज्ञी हिमानीले पर्साको पोखरिया नगरपालिकाका दुई सय ५० परिवारलाई पनि राहत वितरण गर्नुभएको छ ।

सिमरा विमानस्थलबाट सडक मार्ग हुँदै पोखरिया पुगेर राहत वितरण गरेर पूर्वयुवराज्ञी शाह बारा आउनु भएको थियो ।

राष्ट्रिय नागरिक संघर्ष समितिका बारा–पर्सा संयोजक अब्दुल सत्तार अंसारीले बाढीका कारण विस्थापित भएका परिवारलाई राहत वितरण गर्ने योजना अनुरुप हिमानी शाह बारा र पर्सा आउनु भएको जानकारी दिनुभयो ।

राहत वितरण गरेर पूर्वयुवराज्ञी शाह बुधबार साँझ काठमाडौं फिर्ता हुनुभएको छ ।