काठमाडौं, ५ भदौ । नेपाल र अमेरिकाबीच राजधानी काठमाडौंमा संयुक्त सैन्य अभ्यास सुरु भएको छ ।
जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली सेना र अमेरिकी सेना बीचमा विगत केही वर्षदेखि सञ्चालन हुँदै आएको संयुक्त अभ्यासको निरन्तरता अन्तर्गत ब्यालेन्स नेल १७–५५३० आजदेखि नेपाली सेनाको महावीर रेञ्जर रेजिमेन्ट छाउनीमा सुरु भएको हो ।
उक्त अभ्यास, विभिन्न सैनिक युद्धकला लगायत अन्तर्राष्ट्रिय मानवीय कानुन, मानव अधिकार जस्ता विषयहरुमा आधारित रही असोज ०२ गतेसम्म सञ्चालन हुनेछ । सो संयुक्त अभ्यासको लागि मित्रराष्ट्र अमेरिकी सेनाको टोली साउन ३२ गते नै आवश्यक तालिम सामाग्री सहित नेपाल आईपुगेका थिए ।
यस किसिमको संयुक्त तालिम तथा अभ्यासबाट नेपाली सेना र अमेरिकी सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान गर्न सहयोग पुग्नुको साथै नेपाली सेनाको अन्य मित्रराष्ट्रहरुको सेनासँग सहकार्य गरी सैनिक कारवाही सञ्चालन गर्न सक्ने क्षमतालाई समेत अभिबृद्धि गर्न विशेष सहयोग पुग्न जाने देखिएको छ ।
साथै, यस्ता सहकार्यहरुबाट दुई देश बिचको मैत्रिपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ एवम् सौहार्द बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।












प्रतिक्रिया