काठमाडौं, ५ भदौ । एमालेका सांसद एवम् वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै गर्ने भारत भ्रमणका बेला भारतका कारण सीमा क्षेत्रमा भएको डुबानको कुरा उठाउन सुझाव दिनुभएको छ ।
संसदको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै एमाले नेता नेपालले सीमा क्षेत्रमा भारततर्फ निर्माण भएको उच्च सडक र बाँधले तराईका जिल्लाहरू डुबान भएको बताउनुभयो ।
‘भारततिर सीमा नजिकै भारतीय पक्षले बनाइएका सडक र उच्च बाँधले तराई डुबान भएको छ’, उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको भारत भ्रमणका बेला डुबानको विषय उठाउनु पर्छ ।’
नेता नेपालले बाढीपीडितहरूलाई सरकारले राहत वितरण नगरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘पीडितहरूले राहत नपाएको गुनासाहरू गरेका छन् । सरकारले त्यसतर्फ समयमा ध्यान दिनुपर्छ ।’
वन जंगल र चुरेको विनाशले बाढी पहिरो आएको भन्दै नेता नेपालले पर्यावरण संरक्षणका लागि आग्रह गर्नुभयो । उहाँले सरकारले उपयुक्त भू–उपयोग नीति बनाउन नसक्दा बाढीले वितण्डा मच्चाएको बताउनुभयो ।











प्रतिक्रिया