घोराही, ५ भदौ । तत्कालीन राजा ज्ञानेन्द्र शाहको समयमा सहायक मन्त्री भएका र अहिलेका भूमिसुधारमन्त्री गोपाल दहितले आफू राम्रो झण्डावाल गाडी नपाएको भन्दै दाङका प्रमुख जिल्ला अधिकारीको सातो लिएका छन् ।
दाङका प्रमुख जिल्ला अधिकारी आफ्नो मान सम्मान नगरेको भन्दै आइतबार सार्वजनिक कार्यक्रममा हप्काएका हुन् । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठलाई मन्त्री दहीतले हप्काउनुका साथै तल्लोस्तरको गालीगलोज गरेका छन् । आफू जिल्ला आउँदा स्वागत गर्ने भीड जम्मा नगरेको तथा झण्डावाला गाडि नपठाएको भन्दै भन्दै प्रजिअ श्रेष्ठलाई थर्काएका हुन् ।
मन्त्री आउने खबरपछि प्रमुख जिल्ला अधिकारी श्रेष्ठले मन्त्री दहितलाई लिन जिल्ला कृषि विकास कार्यालय दाङको गाडी नेपालगञ्ज पठाएका थिए । मन्त्रीलाई लिन झण्डा नभएको एउटा सामान्य गाडी पठाएको भन्दै दहितले सार्वजनिक रुपमा प्रजिअ श्रेष्ठको आलोचना गरेका हुन् ।
मन्त्री दहितले आफूलाई सानो पार्टी र थारु मन्त्री भएको हिसावले प्रजिअले अपमान गरेको भन्दै राजधानी फर्केपछि मन्त्रिपरिषदमै कुरा उठाउने र सिडिओको सरुवा गर्ने धम्की दिएका छन् ।
उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरेर मन्त्रीको सम्मान गरिएको प्रजिअ श्रेष्ठले दाबी गरेका छन् । ‘जिल्लामा भएको स्रोत साधनको उपयोग गरेर उहाँलाई सम्मान गरिएको हो, मै आफै गएको छु उहाँलाई लिन’, प्रजिअ श्रेष्ठले भने ।
तत्कालीन थरुहट तराई पार्टी नेपालका नेता दहित केही पहिला मात्रै विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमसँग पार्टी एकता गरेका थिए । दहितलाई गच्छदारले नै दोस्रो पटक मन्त्री बनाएका हुन् ।












प्रतिक्रिया