
भन्सारको मुलद्धार अगाडी राखिएको किर्ते प्रज्ञापनपत्र बनाई निस्कीएको दसचक्के ट्रक पुनः चेकजाच अघि । सो ट्रक पुन चेकजाच गर्दा किर्तेगरी बनाईएको प्रज्ञापनपत्रमा पनि उल्लेखीत समान भन्दा फरक २६ किसीमका सामग्री रहेका थिए ।
– नरेश केसी
भैरहवा, ४ भदौ । किर्ते प्रज्ञापनपत्र बनाई अबैध ढंगले गाडी पास गराएको अभियोगमा भैरहवा भन्सारले एजेन्ट नम्बर एन ४७५ नम्बरका जगत दाहाललाई जेल चलान गरेको छ । भन्सार ऐन दफा ५७, १ अन्तर्गत चोरी पैठारी गर्ने प्रयत्न गरेको अभियोगमा १ वर्ष कैद र विगो अनुसारको जरिवाना दाबी सहित जेल पठाइएको भन्सार कार्यलयका सुचना अधिकारी गोपाल भट्टराईले जनाए ।
भन्सारले करिब ५४ लाख विगो दाबी समेत गरेको छ । एजेन्ट दाहालसंग सो रकम बराबरको धरौटी राखी पुनरावेदन गर्ने अधिकार भने सुरक्षीत रहेको छ । दाहालका छोरा दिपक दाहलले भने आफ्नो बुबा निर्दोश हुदाहुदै फसाइएको संक्षिप्त प्रतिक्रिया दिए ।
यता किर्ते प्रज्ञापत्र बनाई करोडौं राजस्व ठगी गर्ने नियतका साथ काम गरेको भन्दै भन्सार अधिकृत मान बहादुर विश्वकर्मा सहित नासु सुबास शर्मा, खरिदारद्धय अतुल शर्मा र विनय जोशीलाई विभागले सबै जिम्मेवारीबाट मुक्त गर्दै अनुसन्धान सम्पन्न नहुदा सम्म निलम्बन गरेको छ । अर्कोतिर विभागका निर्देशक दिव्या पोख्रेलको संयोजकत्वमा गठीत उच्चस्तरीय छानविन टोलीले सोमबार सम्म प्रतिवेदन पेश गर्ने जनाएको छ । संयोजक पोखरेलका अनुसार प्रज्ञापनपत्रको दुरुपयोग भएको छ । हामी गहन अध्ययन अनुसन्धानगरी यस्ता गलत कार्य अब उप्रान्त भन्सारमा नदोहरीनेगरी दोषीलाई कारबाही सहितको माग गर्दै प्रतिवेदन पेश गर्दैछौं ।
एउटै प्रज्ञापन पत्रबाट दुई वटा मालवाहक गाडीको राजश्व तिरेको प्रज्ञापन पत्रमा देखाएको र प्रज्ञापन पत्रमा उल्लेख रहेको भन्दा बढी साम्रगी भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले समेत छानविन गरिरहेको छ ।
एम ५६९८७ र ५६९९७ नम्बरको प्रज्ञापनपत्र मार्फत ना ६ ख ५६३५ नम्बरको अर्को ट्रकमा रहेको साम्रगी भन्सार कार्यालयले भन्सार गरेर पठाइसकेको थियो । ना ६ ख ५६३५ नम्बरको ट्रकमा रहेको साम्रगी राजश्व बुझाएको विवरण भन्सार कार्यालयको कम्पुयटर दाखिला भएको देखिएपनि किर्ते प्रज्ञापन पत्र तयार पारिएको ना ४ ख ४१२६ नम्बरको ट्रकमा रहेको साम्रगीको राजश्व बुझाएको कुनै विवरण भन्सारको कम्पुयटरमा दाखिला भएको छैन । सो सम्बन्धमा जानकारी आएसंगै भन्सार प्रमुखसंग बुझ्दा उनले ना ४ ख ४१२६ नम्बर ट्रकमा भएको समान प्रज्ञापनपत्र अनुसार ठीक भएको समान बैध भएको जिकीर गरेका थिए । तर पुनः चेकजाच गर्दा किर्तेगरी बनाइएको प्रज्ञापनपत्र अनुसार पनि नभएको र भन्सार नै नगरी बाहिरी सकेको भेटिएपछि भन्सार क्षेत्रमै हंगामा मच्चिएको थियो ।
ट्रकमा रहेको साम्रगी चेकजाँच नै नगरी ट्रकमा पर्दा कपडा, वुलन टप मात्र रहेको भनिएपनि ट्रकलाई चेकजाँज गर्दा हार्डवयर, सिडी चक्का, लेडिज सुट, लगायतका ट्रकमा २६ किसिमका करिब ५३ लाख ६० हजार मुल्य बराबरको साम्रगीहरु फेला परेको थियो । विरगन्ज क्षेत्रबाट अबैध कारोबार गर्दै गएका व्यापारी राजु थापा मार्फत उक्त काम भएको बुझिएको छ ।
भन्सारको छेउमै रहेको नेपाल प्रहरीको युनिट बेलहिया इलका प्रहरी कार्यलयको पनि भन्सारबाट हुने अबैध चोरी निकासी मात्र नभएर गलत क्रियाकलापमा संलग्नता हुन सक्ने अनुसन्धान स्रोतले दाबी गरेकोछ । यद्यपी अनुसन्धानको प्रतिवेदन आएपछि सो तथ्य स्पष्ट होला । तथापी नेपाल प्रहरी र शसस्त्र प्रहरीले भन्सारको घटनासंग मुछिएर नाम बाहिर आएका आफ्ना कर्मचारीलाई कारबाहि गरेको जनाएको छ । भन्सार कार्यलय प्रज्ञापत्र नक्कली हो की सक्कली भनी छुट्टाउनेगरी केहिदिनभित्रै भन्सार गेटमा स्क्यान मेशिन समेत राख्ने तयारी थालेको छ ।















प्रतिक्रिया