काठमाडौं, ४ भदौ । १२ औं क्वीक्स ग्रिनल्यान्ड कप अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको उपाधि एञ्जल हर्ट र एचएचसीएस्कुलले जितेका छन् । एचएचसीय सिनियर छात्र र एञ्जल हर्टले जुनियर छात्रमा उपाधि जितेका हुन् ।
शनिबार भएको सिनियर छात्रको फाइनल खेलमा एचएचसीयले भ्यालि पब्लिक स्कुललाई ४४–४२ को साँघुरो अन्तरले पराजित ग-यो ।
एचएचसीयको जितमा राजकुमार राईले १८ स्कोर गरे । सिनियर छात्रमै गोल्डेन पिकले ग्रिनल्यान्ड स्कुललाई ४३–४० स्कोरले हराउँदा गोपाल भण्डारीले १८ स्कोर गरे ।
धापासीस्थित आयोजक ग्रिनल्यान्ड स्कुलको कोर्टमा भएको जुनियर छात्रको फाइनल खेलमा एञ्जल हर्टले नेरिक स्कुललाई २८–२५ स्कोर हराउँदै उपाधि उचाल्यो ।
एञ्जल हर्टको हितमा रिंकल राईले ९ स्कोर गरे । यसैगरी तेस्रो स्थानका लागि भएको खेलमा मञ्जुघोस्साले लाली गुराँस स्कुललाई ४०–३३ स्कोरले हरायो । विजेताका उर्गेन रिङजिङ गुरुङले १८ अंक बटुले ।
प्रतियोगिताको सिनियर छात्रमा एचएचसीएका राजकुमार राई उत्कृष्ट खेलाडी घोषित भए । त्यसैगरी भ्यालि पब्लिकका मिलन विक हाइ स्कोरर र ग्रिनल्यान्डका दिलिप पुन बेस्ट थ्री प्वाइन्टर घोषित भए ।
यसैगरी जुनियर छात्रमा एञ्जल हर्टका सागर नेपाली उत्कृष्ट खेलाडी चुनिए भने नेरिकका भुवन थापा हाइ स्कोरर र मञ्जुघोस्साका उर्गेन रिङजिङ गुरुङ बेस्ट थ्री प्वाइन्टर बने ।
विजेतालाई जनसंख्या तथा वातावरण मन्त्री मिथिला चौधरी, विद्यालयका प्राचार्य थकिनकुमार गुरुङ,केन्द्रीय प्याबसनका वरिष्ठ उपाध्यक्ष कृष्ण अधिकारी,राष्ट्रिय सौन्दर्यकर्मी यूनियनक मोरङकी वरिष्ठ उपाध्यक्ष कला डाँगीलगायतले पुरस्कार प्रदान गरे ।
२०६२ सालदेखि आयोजना हुँदै आएको प्रतियोगिताको १२औं संस्करणलाई नेपालको प्रतिष्ठित औद्योगिक घराना चौधरी समूहको क्वीक्स चिज बलले प्रायोजन गरेको छ । प्रतियोगितामा जुनियर छात्र र सिनियर छात्रमा ४० विद्यालयको सहभागिता रहेको थियो ।















प्रतिक्रिया