काठमाडौं, ३ भदौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अख्तियारका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीलाई केपी ओलीले बचाउन चाहेको दाबी गरेका छन् ।
सुरुमा आफूले कारबाहीको प्रस्ताव लैजाँदा ओलीले तीनपटकसम्म नकारेको प्रसंग सुनाउँदै दाहालले पछि बाध्य भएर कारबाही गर्न तयार भएको बताए । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
‘लोकमानलाई बचाउने काम सुरुमा केपी ओलीले नै गरेका हुन् । यो मान्छेले धेरै चिज बिगार्ने भयो । हामी पावरमा भएका बेला कारबाही गरौं भनेर तीनपटक प्रस्ताव लगेँ तर उनले कारबाही गर्न ध्यानै दिएनन्,’ दाहालले भने, ‘बरु उल्टै म प्रधानमन्त्री भएका बेला उनीहरूले नै प्रचण्डलाई कारबाही गर्, तेरो रक्षा गर्छौं भनेर लोकमानलाई उचाले ।’
दाहालले एमाले नेतामा बाहिर भन्ने र भित्र गर्ने दुईखाले चरित्र रहेको आरोप लगाए । उनले एमालेलाई आफूले कहिल्यै ठूलो नदेखेको पनि बताए । ‘एमाले र हाम्रोबीचमा लडाइँ ठूलो छ। संगठन उनीहरूले बनाए । एनजीओ/आईएनजीओ धेरै छन् । झन्डै ३०/३५ वर्षदेखि चुनावी राजनीतिमा लागेका छन् । हामी चुनावी राजनीतिमा नयाँ पर्यौं,’ दाहालले भने, ‘उनीहरूसँग चुनावी नेटवर्क छ, पैसा छ। त्यसैले उनीहरू ठान्छन्, यहाँको सबै हाम्रो हो तर हामी उनीहरूलाई भुसुना पनि मान्दैनौं ।’
दाहालले राजनीतिक परिवर्तनमा एमालेले झिँगासम्म पार्न नसकेको तर्क गर्दै उसले आफूहरूलाई टेरेर जानुपर्ने तर्क गरे । ‘एमालेले गरेको के छ ? एउटा झिंगासम्म मारेको छैन । एमालेले गर्दा देशमा यो राजनीतिक परिवर्तन भयो भन्ने केही छैन। भनेपछि हामीले एमालेलाई ठूलो किन देख्ने ? मै त देख्दै देख्दिनँ,’ उनले भने ।
एमाले-माओवादी सम्बन्ध अहिलेकै अवस्थामा लामो समय नरहने दाबी पनि उनले गरे । ‘यसरी धेरै दिन चल्दैन । या त माओवादीले उनीहरूलाई आफूभित्र समाहित गर्नुपर्छ या उनीहरूले हामीलाई लान्छन्, हाम्रो विघटन हुन्छ। हामी विघटनको अवस्थामा पुग्नु भएन ।’
कांग्रेससँगको अहिलेको सहकार्यको रणनीतिक अर्थ रहेको बताए । ‘शान्तिप्रक्रिया टुंगिन हुँदैन भन्ने एमालेको चाहना छ । त्यो टुंगिएन भने कांग्रेसलाई पनि ठीक गर्न सकिन्छ, माओवादीलाई ठीक पार्न सकिन्छ भन्ने सोचाइ उसको छ । अर्को तिर शान्तिप्रक्रिया, विस्तृत शान्ति-सम्झौता मुख्य रूपमा कांग्रेस नेतृत्वसँग भएको हो । अब शान्तिप्रक्रिया टुंग्याउने बेला छ । हामी अर्काेतिर लाग्यौं भने शान्तिप्रक्रिया टुंगिँदैन।’












प्रतिक्रिया