काठमाडौं, २ भदौ । नेपाली कांग्रेसका सांसद मिठु मल्लले बिना आधार निर्वाचनमा असहयोग गरेको आरोप लगाउँदै पार्टीले आफूलाई कारबाही गरेको बताउनुभएको छ ।
काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गरेर मल्लले आफूमाथि पार्टीले गरेको कारबाही कपोलकल्पित र निराधार भएको दाबी गर्नुभयो ।
“मैले आफ्नो जीवनको अधिकांश समय कांग्रेस र प्रजातन्त्रका लागि खर्चेको छु तर मलाई आज पार्टीलाई असहयोग गरेको झुटो आरोपमा कारबाही गरेको छ,” सांसद मल्लले भन्नुभयो ।
आफूमाथि कारबाही गर्ने आधार पार्टीलाई नभएको स्पष्ट पार्दै उहाँले आफूले असहयोग गरेको आधार देखाउनसमेत जिल्ला कार्यसमितिलाई चुनौती दिनुभयो ।
वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको उम्मेदवारलाई हराएर नेकपा (माओवादी केन्द्र)का उम्मेदवारलाई जिताउन भूमिका निर्वाह गरेको आरोप लगाउँदै पार्टीको जिल्ला कार्यसमितिले सांसद मल्लसहित २१ जनालाई कारबाही गरेको थियो ।
पार्टीले आफूमाथि कारबाही गरे पनि निरन्तर कांग्रेसमा लागेर काम गर्ने उहाँले स्पष्ट पार्नुभयो ।
स्थानीय तहको निर्वाचनमा सांसद मल्ले कांग्रेस उम्मेदवारहरूलाई पराजित गराउन मुख्य भूमिका खेलेको आरोप छ ।















प्रतिक्रिया