काठमाडौं, १ भदौ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले तराई डुबाउने भारतीय बाँधका विषयमा भारत सरकारसँग कुरा गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ ।
हेटौंडामा आजदेखि अध्यक्ष थापाको सभापतित्वमा शुरु भएको केन्द्रीय कार्य समितिको बैठकले प्रधानमन्त्रीको आगामी भारत भ्रमणमा कोशी लगायत भारतद्वारा निर्मित एकतर्फी बाँधको विषयलाई उच्च प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराएको हो ।
बैठकपछि प्रवक्ता भुवक पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘भारतीय क्षेत्रमा बनाईको तटबन्धको कारण प्रत्येक बर्ष सिमाक्षेत्रका धेरै गांउ बस्तिहरु डुबानमा पर्ने दुःखद अवस्थाको अन्त्य गर्न विगतमा समेत धेरै पटक सहमति, सम्झौता र आश्वासन भारत सरकारबाट प्राप्त भएका छन् । तर, अहिले सम्म त्यसतर्फ ठोस काम हुन नसकेको कटु सत्यलाइृ दृष्टिगत गर्दै सम्माननिय प्रधानमन्त्रीको आगामि भारत भ्रमणको क्रममा यस बिषयलाई उच्च प्राथमिकतामा राख्न समेत राप्रपा आग्रह गर्दछ ।’
मृतकलाई ५ लाख राहत दिन माग
यस्तै, राप्रपाले बाढी, पहिरो र डुबानमा परेका पीडितहरुको सहायतार्थ राप्रपाले प्रधानमन्त्रि राहत कोषमा ५ लाख सहयोग गर्ने निर्णय पनि गरेको छ । साथै बाढी, पहिरो र डुबानमा परेर निधन भएका मृतकका परिवारलाई जनही ५ लाख आर्थिक सहयोग उपलब्ध गराउन, घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्न तथा बिस्थापित परिवारलाई भूकम्प पीडितहरुलाई दिइएको सहयोग सरह घर बनाउन ३ लाख र थप सहुलियत ऋण प्रदान गर्न समेत सरकारसंग माग गरेको छ ।
पार्टी विभाजन प्रक्रिया फिर्ता लिन आह्वान
बैठकले विभाजन कार्य तत्काल फिर्तालिन तथा सो कार्यबाट अलग भै पार्टी एकताको पक्षमा खडा हुन आह्वान गरेको छ । ‘यहि भाद्र ४ गते अगावै विभाजन प्रयासबाट अलग भै पार्टी एकताको पक्षमा खडा हुने सबैलाई यसअघि गरिएको कारवाही फिर्ता लिई पूर्ववत स्थान र सम्मान कायम गरिने छ,’ विज्ञप्तिमा भनिएको छ ।

















प्रतिक्रिया