काठमाडौं, १ भदौ । नेपाली सेना तथा अमेरिकी सेनाको संयुक्त तत्वाबधानमा गत २०७२ सालको भूकम्पबाट अति प्रभावित गोरखा जिल्लामा मेडिकल सेवा तथा स्कूल र स्वास्थ्य केन्द्रहरुको मर्मत सम्भारमा सहयोग पुर्याउनको लागि साउन २९ गतेदेखि भदौ २ गतेसम्म सञ्चालन भईरहेको एक्स प्यासिफिक एञ्जल २०१७ को सिलसिलामा साउन ३२ गते नेपाली सेनाका युद्धकार्य महानिर्देशक उपरथी हेमन्तराज कुंवरले स्वास्थ्य शिविर सञ्चालन तथा विविध मर्मत सम्भार सम्बन्धी कार्यको स्थलगत निरीक्षण गर्नुभएको छ ।
जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उक्त कार्यक्रम अन्तर्गत गोरखा जिल्लाको गोरखा नगरपालिकास्थित सरस्वती माध्यमिक विद्यालयमा साउन ३०, ३१ र ३२ गते क्रमशः ४०९, ७०० र ९१९ जना गरी जम्मा २०२८ जना स्थानीयलाई स्वास्थ्योपचार सेवा प्रदान गरिएको थियो । शिविरमा आउने अधिकांश सर्वसाधारणहरु आंखा र छाला रोगका बिरामी रहेका थिए भने बिरामीहरुलाई औषधी लगायत चस्मा निःशुल्क रुपमा वितरण गरिएको थियो ।
सोही कार्यक्रम अन्तरगत इञ्जिनियर टोलिद्वारा पूर्वाधार विकासको क्रममा गोरखा जिल्लास्थित सरस्वती मा.वि. आहालेमा शौचालय/बाथरुम बनाउने र इलेक्ट्रिक कार्य सम्पन्न गर्नुको साथै, महेन्द्र मा.वि., सन्सारीको ५ वडा भवनमा रङ लगाउने, शौचालय निर्माण तथा मर्मत कार्य गरेको छ ।
त्यसैगरि, गोरखा जिल्ला अस्पतालको प्रशासनीक भवनमा रङ्गरोगन र ड्रेनेज व्यवस्थापनको कार्य गर्नुको साथै नगर स्वास्थ्य केन्द्र, छेवेटारमा शौचालय र बाथरुम मर्मत तथा झ्यालहरुमा रेलिङ लगाउने कार्य गरेको छ । सोही क्रममा उक्त जिल्लाको कुन्दुरस्थित महेन्द्र उच्च माध्यमिक विद्यालयमा ४००० लिटरको पानी ट्याङ्की जडान, छ वटा नयां शौचालय निर्माण, रङ लगाउने र प्लम्बिङ्ग कार्य गरेको छ ।
सो कार्यक्रममा नेपाली सेनाका १४८ लगायत मित्रराष्ट्र अमेरिकी सेनाका ६६, श्रीलङ्काको राष्ट्रिय सेनाका २, मङ्गोलियाको राष्ट्रिय सेनाका २ तथा बङ्गलादेशको राष्ट्रिय सेनाका २ एवं गोरखा जिल्ला अस्पतालबाट १० र नेपाल रेडक्रस सोसाईटी गोरखाबाट १० जनाको सहभागिता रहेको छ ।




















प्रतिक्रिया