भैरहवा, १ भदौ । भैरहवा भन्सार कार्यालयमा किर्ते प्रज्ञापनपत्र बनाई अबैध ढंगले गाडी पास गराएको सम्बन्धमा भन्सार विभागले छानविन शुरु गरेको छ ।
भन्सार विभागले भैरहवा भन्सारको घटना छानविन गरेर ७ दिनभित्र प्रतिवेदन पेश गर्ने गरी विभागका निर्देशक दीव्या पोख्रेलको संयोजकत्वमा उच्चस्तरीय छानविन टोली गठन गरेको हो । टोलीले सो विषयमा छानविन र अनुसन्धान गररहेको बुझिएको छ ।
यसैबीच भन्सार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले किर्ते प्रज्ञापनपत्रमा हस्ताक्षर गर्ने भन्सार अधिकृत मानबहादुर विश्वकर्मा र जाँचकी अतुल शर्मासंग बुधबार लिखित बयान लिएको छ ।
किर्ते प्रज्ञापनपत्रमार्फत भन्सार राजस्व छलि गर्ने र अबैध कारोबारमा संलग्न देखिएको आरोपमा एन ४७५ नम्बरको भन्सार एजेन्टको लाइसेन्स ६ महिनासम्मको लागि कारोबार गर्न नपाउने गरेर निलम्बित गरिएको छ ।
एउटै प्रज्ञापन पत्रबाट दुई वटा मालवाहक गाडीको राजश्व तिरेको प्रज्ञापन पत्रमा देखाएको र प्रज्ञापन पत्रमा उल्लेख रहेको भन्दा बढी साम्रगी भेटिएपछि विभागले भन्सार अधिकृत सहित ४ जना कर्मचारीलाई विभागमा तानेको थियो । उनीहरु बुधबार पुनः भैरहवा आएर विभागले गठन गरेको छानविन टोली समक्ष बयान दिइरहेका छन् ।
भन्सार अधिकृत मानबहादुर विश्वकर्मा सहित नासु सुबास शर्मा, खरिदारद्वय अतुल शर्मा र विनय जोशीलाई विभागले विभागमा तानेर घटनाको विषयमा लिखित स्पष्टीकरण माग गरेको स्रोतले बताएको छ ।
एम ५६९८७ र ५६९९७ नम्बरको प्रज्ञापनपत्र मार्फत ना ६ ख ५६३५ नम्बरको अर्को ट्रकमा रहेको साम्रगी भन्सार कार्यालयले भन्सार गरेर पठाइसकेको थियो ।
ना ६ ख ५६३५ नम्बरको ट्रकमा रहेको साम्रगी राजश्व बुझाएको विवरण भन्सार कार्यालयको कम्प्युयटर दाखिला भएको देखिएपनि किर्ते प्रज्ञापन पत्र तयार पारिएको ना ४ ख ४१२६ नम्बरको ट्रकमा रहेको साम्रगीको राजश्व बुझाएको कुनै विवरण भन्सारको कम्पुयटरमा दाखिला भएको छैन ।
















प्रतिक्रिया