१ कार्तिक २०८३, आइतबार

बाढी प्रभावित एनसेल ग्राहकद्वारा १ करोड ६६ लाखको निःशुल्क एसएमएस आदानप्रदान

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ भदौ । बाढी पहिरो प्रभावित क्षेत्रमा आफ्ना ग्राहकको संचार सुनिश्चित गर्न एनसेलले मंगलबारसम्म प्रदान गरेको निःशुल्क एसएमएस सेवाअन्तर्गत ग्राहकले १ करोड ६६लाखभन्दा बढि एसएमएस आदानप्रदान गरेका छन् ।

कम्पनीले विपतको बेलामा आफ्ना ग्राहकलाई आफ्ना प्रियजनसँग सम्पर्कमा रहन र उद्धार तथा राहतकार्यमा सहयोग गर्नका लागि आइतबारबाट तीन दिनसम्म प्रतिदिन प्रतिग्राहक ५० वटा निःशुल्क एसएमएस उपलब्ध गराएको थियो ।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले दिएको निर्देशनअनुसार एनसेलले बाढी पहिरो प्रभावित २३ जिल्लाका ग्राहकलाई निःशुल्क एसएमएस सेवा प्रदान गरेको हो ।

यस बाहेक भ्वाइस तथा डेटा सेवालाई सहज बनाउन एनसेलले ब्यालेन्स ट्रान्सफर सेवा पनि निःशुल्क बनाएको थियो ।

साथै एनसेल सापटी सेवाअन्तर्गत प्राप्त हुने सापटी रकमलाई वृद्धि गरि विद्यमान सेवा शुल्कमै रु ६० सापटी प्रदान गरिएको थियो ।

यसैगरी कम्पनीले प्रभावित क्षेत्रका ग्राहकलाई लक्षित गरी आफ्ना प्रियजनसँग सम्पर्क गर्न सघाउनका लागि निःशुल्क आपतकालीन सम्पर्क नम्बर ९००८ पनि संचालनमा ल्याएको थियो ।

“बाढीपहिरो प्रभावित क्षेत्रलाई लक्षित गरी प्रत्येक दिन प्रदान गरिएको निःशुल्क एसएमएस सेवा, थप सापटीको सुविधा, निःशुल्क ब्यालेन्स ट्रान्सफर सुविधा र आपतकालीन सम्पर्क नम्बरले यो विपदको क्षणमा आफ्ना प्रियजनसँग सम्पर्कमा रहनर राहत तथा उद्धार कार्यमा सहज बनाएको प्रतिक्रिया पाएका छांै”, एनसेलका कर्पोरेट सर्भिसेस् निर्देशक प्रणय आचार्यले भने ।

प्रभावित क्षेत्रमा पानीको सतह घट्दै गर्दा कम्पनीले थप टावरहरु संचालनमा ल्याएको जानकारी पनि उनले दिए ।

प्राकृतिक विपद्का बेला आफ्ना ग्राहकलाई सम्पर्कमा रहन विभिन्न सेवा सुविधा प्रदान गर्दै आएको एनसेलले जल तथा मौसम विज्ञान विभागसँग सहकार्य गर्दै बाढीको जोखिम रहेका क्षेत्रमा आफ्ना ग्राहकलाई बाढी सम्बन्धि पूर्वसूचना अर्थात एसएमएस अलर्ट पनि प्रदान गर्दै आएको छ ।

यसअन्तर्गत कम्पनीले विगत एक सातामा (साउन २४ देखि साउन ३० सम्म) ६० लाखभन्दा बढि पूर्वसूचना पठाएको थियो ।

नदीमा पानीको सहतअनुसार जलतथा मौसम विज्ञान विभागले प्रदान गरेको एसएमएस कन्टेन्ट एनसेलले बाढी पहिरोको जोखिमयुक्त क्षेत्रका ग्राहकहरुलाई एसएमएस सम्प्रेषण गरेको हो ।

समझदारी पत्रअनुसार, एनसेलले वर्षा र नदीमा जल सहतको आधारमा बाढी पहिरोको जोखिमका बारेमा पश्चिम राप्ती, नारायणी, कन्काई, कोशी, बागमती, कर्णाली, बबई, कमलालगायत नदीका तल्लो तटीय क्षेत्रमा बसोवास गरिरहेका परिवारलाई एसएमएस मार्फत पूर्वानुमान तथा पूर्वसूचना पठाउँदछ ।