नेपालगञ्ज, ३१ साउन । डुडुवा गाउँपालिका–१ टेपरी बाँकेका जितबहादुर मौर्यको परिवार दुई दिनदेखि धमिलो पानी र कुहिएको खाना खाएर गुजारा चलाउँदै छन् ।
उता महोत्तरी कारागारका कैदीबन्दी दुई दिनदेखि भोकभोकै परेका छन् । कारागार परिसरको कार्यालय र कैदी थुनुवा कक्षमा पाँच फिटभन्दा बढी पानी जमेपछि शनिबारदेखि कैदीबन्दीले खाना पाएका छैनन् । राजधानी दैनिकले समाचार छापेको छ ।
लगातारको वर्षका कारण मुलुकका अधिकांश भूभाग जलमग्न हुँदा मृत्यु हुनेको संख्या वृद्धिसँगै सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएको छ ।
तराईका बाढीप्रभावित अधिकांश जिल्लाका गाउँहरू एकअर्कोसँग सम्बन्ध विच्छेदमा छन् भने पीडितहरूले भिजेका, कुहिएका खाना र धमिलो पानी खाएर गुजारा गर्न थालेका छन् ।
बाढीका कारण तत्काल राहत र उद्धार हुन नसकेका क्षेत्रका बासिन्दामा प्रदूषित खाना र पानीका कारण जुनसुकै बेला महामारी फैलन सक्ने भन्दै चिकित्सकले चेतावनी दिए पनि विकल्प नहुँदा पीडितहरू प्रदूषित खाना खान बाध्य छन् ।
बाढीका कारण राप्ती र डुडुवा नदीको किनारका बस्तीको जनजीवन नराम्ररी प्रभावित बनेको छ । खानेपानीको स्रोत दूषित हुनुका साथै घरमा भएको अनाज पनि भिजेर कुहिन थालेका छन् ।
डुडुवा गाउँपालिका–१ टेपरीका जितबहादुर मौर्यले शुक्रबार आएको बाढी गाउँमा बसेर वितण्डा मच्चाउँदा पनि राज्यको कुनै उपस्थिति हुन नसकेको गुनासो गरे । उनले भने, ‘बिहानपख भएकाले मानवीय क्षति हुन पाएन । बाहिरबाट हेर्दा घर त छ तर त्यो घरमा बस्न सक्ने अवस्था छैन ।’
उनले बाढी घरमा पस्दा खाद्यान्न सबै भिजेकाले आफूहरूसँग खान केही बाँकी नभएको र भिजेकै अनाज खाएर दुई दिन काटेको बाँके डुडुवाका मौर्य बताउँछन् । ‘अनाज कुहिन थालेको छ । पानीकुवामा बाढी पसेको छ । धारा बाढीले डुबाएको छ । तैपनि त्यही पानी पिउन बाध्य छौं,’ उनी भन्छन् ।
सोही ठाउँका चिम्मन यादवले राप्ती र डुडुवाको भेल एक्कासि गाउँमा पस्दा भएका केही खाद्यान्न बगाएको र केही कुहिएको बताए । खाद्यान्नका कारण आठजनाको परिवार कसरी गुजारा चलाउने भन्ने उनमा चिन्ता छ । ‘घरमा भएको अनाज सबै कुहिन लागिसक्यो । कसरी खाने हो ? शनिबार बिहानदेखि घरमा खाना पाकेको छैन । के पकाउने ? भएको सबै भिजेर कुहियो,’ बाढीले भिजाएको गहुँ देखाउँदै उनले भने ।
पीडित चिम्मन यादवले तीन दिनदेखि बाढीसँग पौंठेजोरी खेल्दै आए पनि राज्यको तर्फबाट कसैले चासो नलिएको गुनासो गरे । ‘हामी नदीको किनारमा बसेका छौं । मरे पनि बाँचे पनि कसैले केही मतलब गर्दाे रहेनछ र हिजो निर्वाचनको बेलामा भोट माग्न सबै आए अहिले हामीलाई दुःख पर्दा कोही आएनन्,’ दुःख पोख्दै उनले भने ।
उनकी पत्नी कलावती यादवले बाढीले सबै लत्ता कपडा र खान भण्डारण गरेको सबै अनाज भिजाइदिएको बताइन् । ‘टेपरीको कुनै यस्तो घर छैन जहाँ बाढी नपसेको हो । बाहिरबाट हेर्दा केही नभएको जस्तो देखिने भए पनि भित्र भने सबै बाढी पसेर बर्बाद पारेको छ । हेर्दाहेर्दै सबै समाप्त पारिदियो । धन्न ज्यानचाहिँ जोगायौं,’ उनले भनिन् । डुडुवा–१ कै पिप्रहवाका जोगिप्रसाद लोनियाले टिनको मद्दतले बाटोमा केही सामान बचाएको भन्दै बाढी घरमा पसेर सबै बर्बाद पारिदिएको बताए ।
बाढीका कारण बाँकेका डुडुवा गाउँपालिकाका होलिया, बेतहनी, कम्दी, चौफेरि, कृषि चौफेरी, टेपरी, राप्ती सोनारीका फत्तेपुर, बिनौना, बैजापुर, नरैनापुर गाउँपालिकाका गंगापुर, मटेहिया, भोजभगवानपुरलगायतका ठाउँहरू प्रभावित भएका छन् ।
बाढी प्रभावितलाई बाँके प्रशासनले उद्धारसमेत गर्न सकेको छैन । बाँकेको होलियाको कृषि चौफेरीमा करिब ५० जना बाढीको चपेटामा परेको भए पनि उनीहरूको उद्धार हुन सकेको छैन












प्रतिक्रिया