काठमाडौं, ३० साउन । नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले पछिल्लो छ महिनाभित्र नेपाल–भारतबीच चारवटा भीभीआईपी भ्रमण भएको भन्दै दुई देशबीचको सम्बन्धलाई यो विषयले प्रष्ट पारेको टिप्पणी गर्नुभएको छ ।
रिपोर्टर्स क्लव नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको साक्षत्कारमा राजदूत पुरीले भन्नुभयो, ‘छ महिनाभित्र ४ वटा भीभीआईपीहरूको भ्रमणहरू भएका छन् । यसले पनि के देखाउँछ भने नेपाल–भारतबीचको सम्बन्ध कति प्रगाढ छ ।’
नेपालका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले दुई पटक भारतको भ्रमण गरेको बताउनुभएका उहाँले भन्नुभयो, ‘राष्ट्रपति विद्यादेवी भण्डारी, पुष्पकमल दाहालको दुई पटक भ्रमण र भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमण उल्लेखनीय छ ।’
नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै भारतको भ्रमण गर्ने बताउनुभएका भारतीय राजदूत पुरीले भन्नुभयो, ‘प्रधानमन्त्री शेरबहादुर देउवा छिट्टै भ्रमणमा जाँदै हुनुहुन्छ । त्यस क्रममा रेल्वे, हाइड्रो, रोडलगायतका ठूला प्रोजेक्टमा सहमति हुन सक्छ ।’ राजदूत पुरीले दुई देशबीच रेल्वे, हाइड्रो र बाटोघाटोले जोड्नुपर्ने बताउनुभयो ।
उहाँले नेपाल–भारतबीच हुने सम्झौता र सहमतिहरू दुबै देशलाई फाइदा हुने गरेर गर्नुपर्ने बताउनुभयो । पुरीले भन्नुभयो, ‘जे पनि सम्झौता हुन्छ ती सबै ‘विनविन’को अवस्थामा हुनुपर्छ ।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका विषयमा सोधिएको जिज्ञासामा राजदूत पुरीले भन्नुभयो, ‘त्यस विषयमा अहिले नै बोल्ने समय आएको छैन ।’
नेपाल–भारतबीचको बाँध र बाढी तथा सीमा विवादका विषयमा पत्रकारहरूले सोधेको जिज्ञासामा राजदूत पुरी धेरै खुलेर बोल्न चाहनु भएन । उहाँले भन्नुभयो, ‘यी विषयहरू दुबै देशका बीच समझदारीका साथ समाधान खोज्नुपर्छ ।’











प्रतिक्रिया