– सुना गुरुङ
काठमाडौं, ३० साउन । पार्टी फुटको तनावमा परेका कमल थापामाथि देशमा जारी प्राकृतिक विपदको परवाह नगरेकोमा जनआक्रोश थोपरिएको छ ।
राप्रपा (प्रजातान्त्रिक)ले प्राकृतिक विपदका कारण निर्वाचन आयोगमा म्याद थप्न निवदेन दिएको सन्दर्भमा देशमा जनधनको क्षति भएको थाहा नै नपाएजस्तो गरेर थापाले आयोगमाथि ठाडो आरोप लगाउनपछि परेनन् । फेसबुक पेजमा राखिएको आयोग शक्ति केन्द्रको मतियार बन्यो भन्ने थापाको पूर्वाग्रही विचारलाई सर्वसाधारण कसैले निको मानेनन् ।
देश जलमग्न भएको बेला कमल थापा स्वार्थ केन्द्रीत राजनीतिमा अल्मलिएको, बाढीपहिरोबाट जनधन गुमाएका जनताको पीडा बेवास्था गरेको, सत्ता र कुर्सीमोह नत्यागेको जस्ता कमेन्ट पोष्ट गर्दै थापाप्रति आम जनताले आक्रोश व्यक्त गरेका छन् । एक प्रतिशतले पनि थापाको स्टेटसको समर्थन गरेका छैनन् ।
सबैलाई दोष, आफूलाई उन्मुक्ति
पशुपति समशेर राणाले प्रभावशाली नेता तथा तत्कालीन राप्रपा नेपालका सांसदहरु बटुलेर पार्टी गठन गर्ने निश्चित भएपछि थापाले निर्वाचन आयोगलाई योजनावद्ध रुपमा लाञ्छना लगाउन थालेका छन् ।
आयोग मात्र नभएर देउवा सरकार, नेपाली कांग्रेस, विमलेन्द्र निधी, माओवादी केन्द्र, पुष्पकमल दाहाल, भारत, दरबार कसैलाई दोषी मान्न थापाले बाकी राखेनन् । अचम्मको कुरा आफैं अध्यक्ष रहेको पार्टी विभाजन हुँदा त्यसको अलिकति पनि जिम्मेवारी थापाले लिएका छैनन् ।
कुनै पनि जिम्मेवार निकायले कानुन र संविधानको एकतर्फी व्याख्या गर्दैन । तर, निर्वाचन आयोग कुनै निष्कर्ष पुग्न पूर्वनै थापाले सार्वजनिक रुपमा अनेकौ अफवाह फैलाएर संवैधानिक अंगको स्वतन्त्र जिम्मेवारीमाथि प्रभाव र दवाब सिर्जना गर्ने गलत प्रयास जारी राखेका छन् । यस्तो गैरजिम्मेवारी थापाजस्तो नेताका लागि शोभनीय देखिन्न भनेर आमजनताले आलोचना गरेका छन् ।
राप्रपा (प्रजातान्त्रिक)को समर्थनमा जिल्ला तथा जनवर्गीय संगठनहरु उभिन थालेपछि थापा क्याम्प थप चिन्ताको भूमरीमा परेको हो । यसै बहावलाई मत्थर पार्न थापाले ४० प्रतिशत पुगेन भनेर हल्ला फैलाउने जुक्ति निकालेको पार्टी स्रोतको दावी छ । जबकी राप्रपा अध्यक्ष स्वयमले संचारकर्मीलाई साक्षी मानेर रिपोर्टस क्लबपार्टी फुट्ने निश्चित भएको भन्दै दुःख व्यक्त गरेका थिए ।
नजरबन्दमा सांसद र केन्द्रीय सदस्यहरु
विश्वासपात्र मानेका सदस्यहरु पशुपति समशेर राणाको पक्षमा लागेपछि अत्तालिएका कमल थापाले नसोचेको काम गरेका छन् । थप दुर्घटना नहोस् भनेर सांसददेखि केन्द्रीय सदस्यहरुलाई हेटौडामा ‘नजरबन्द’मा राखेका छन् ।
४२ जना केन्द्रीय सदस्य एकलौटी मनोनयन गर्दा पनि राप्रपा (प्रजातान्त्रिक) गठन गर्न आवश्यक संख्या पुग्ने देखेपछि थापाले यस्तो कदम चालेका हुन् । निगरानीमा राखिएको पार्टी सदस्यहरु हेटौडा पुर्याइएपछि राप्रपा थापा पनि गृह जिल्ला पुगेका छन् ।
राप्रपाका एक पदाधिकारी अनुसार, यसरी थुनामा राखिएका सदस्यहरुमा भाष्कर भद्रा, कोमल वली, बाबुकाजी प्रधान, युवती कार्की, विक्रमबहादुर थापा, दिलविकास राजभण्डारी, शुशील श्रेष्ठ, बसन्तमान सिंह अधिकारी, लक्ष्मी संग्रौला, गोपाल दाहाल, सरस्वती केसी, लीलादेवी श्रेष्ठ, राजेश्वरी साह, रामदुलारी चौधरी, इन्द्र चित्रकार, रमानन्द न्यौपाने, रामबहादुर शाह, गोविन्द खनिया आदि छन् ।
आफ्नो मानप्रतिष्ठामा आँच आउने गरी कब्जामा राखेजस्तो गरेपछि उकुस मुकुस भएका राप्रपा नेताहरुले अध्यक्षको यस्तो अस्वभाविक कामको विरोध गर्न थालेका छन् । आफूलाई विश्वास नगरेको भन्दै विद्रोह गर्ने चेतावनी दिन थालेका छन् । अध्यक्षको निर्देशनमा हेटौंडा लैजाने जिम्मा पाएका व्यक्तिहरुलाई सांसद र केन्द्रीय सदस्यहरुको दवाब खप्न हम्मे हम्मे परेको छ ।
यसैबीच, राप्रपाका अध्यक्ष कमल थापाले भदौ १ गते केन्द्रीय कार्यसमितिको बैठक हेटौँडामा बोलाएका छन् ।
















प्रतिक्रिया