काठमाडौं, २७ साउन । सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई साधारण तारेखमा राखी थुनामुक्त गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आदेश दिएको छ ।
कर फस्र्योट आयोगमार्फत करोडौंको अनियमितता गरेको अभियोगमा पक्राउ परेका शर्मा हाल अख्तियारको हिरासतमा थिए । हिरासतमा रहँदा शर्मामाथि दुर्व्यवहार भएको भन्दै उनकी श्रीमति कल्पना उप्रेती शर्मा सर्वाेच्च अदालत गएकी थिइन् । कल्पनाले गैरकानूनी रुपमा शर्मालाई थुनामा राखेको भन्दै अदालतमा गत असार २७ गते बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेकी थिइन ।
सोही रिटमा सुनुवाई गर्दै न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत् पूर्ण इजलाशले शुक्रबार चुडामणिलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
शर्मा थुनामुक्त भएपनि उनीमाथिको सुनुवाइ भने जारी रहने अदालतले जनाएको छ । कर फर्स्यौटमा अनियमितता गरेको भन्दै गत जेठ १९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मालाई पक्राउ गरेको थियो ।











प्रतिक्रिया