१० मंसिर २०८३, बिहिबार

दार्जिलिङमा पक्राउ परेका नेपाली युवकलाई छुटाउन एमाले नेता खनालको पहल

6.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, २७ साउन । आमाको उपचार गराउन दार्जिलिङको सिलिगुडी जाँदा आन्दोलनकारी भन्दै भारतीय प्रहरीद्वारा पक्राउ गरिएका नेपाली युवकलाई रिहा गर्न एमाले नेता झलनाथ खनालले पहल गरेका छन् ।

दार्जिलिङको सुकुनामा साउन १४ मा भएको प्रदर्शनमा आन्दोलनकारी गोर्खाल्याण्ड समर्थकसँग ‘अनुहार मिलेको’ भन्दै इलामको सूर्याेदय नगरपालिका–१० का २७ वर्षीय उदयहाङ फागोलाई सोमबार आमाको उपचारका सिलसिलामा सिलिगुडीस्थित फ्यामिली क्लिनिकमा गएका बेला भारतीय प्रहरीले पक्राउ गरेको थियो । पारिवारिक स्रोतका अनुसार उनलाई बिहीबार अदालतबाट म्याद थप गरी प्रहरी हिरासतमा राखिएको छ ।

आफ्नै गृहजिल्ला इलामका नागरिक आन्दोलनकारी भन्दै दार्जिलिङमा पक्राउ परेपछि एमाले नेता खनालले उनलाई छुटाउन पहल थालेका हुन् । पक्राउ परेका उदयको रिहाइका लागि पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि भारतीय पक्षसँग आग्रह गरेको उनको निजी सचिवालयले जनाएको छ । जवाफमा भारतीय पक्षले अनुसन्धान चलिरहेको सत्य तथ्य बुझेर रिहा गरिने प्रतिक्रया दिएको बताइएको छ ।

उदयलाई तत्काल छाड्न दलहरुको आग्रह

यता इलामका प्रमुख राजनीतिक दलले आमाको उपचारमा भारत गएका उदयलाई भारतीय प्रहरीले पक्राउ गरेको विरोध गर्दै तत्काल रिहाइको माग गरेका छन् ।

दलहरूले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै पक्राउ परेका उदय निर्दाेष रहेकाले रिहाइको पहल गरिदिन सम्बन्धित पक्षसँग माग गरेका हुन् ।

सूर्याेदय नगरपालिकास्थित नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायत नौवटा दलले संयुक्त विज्ञप्ति जारी गर्दै फागोको रिहाइका लागि पहल गर्न राजनीतिक, दल, नागरिक समाज, अधिकारकर्मी र प्रहरी प्रशासनसँग माग गरेका हुन् । उदयलाई भारतीय प्रहरीले पक्रेको थियो ।

दलहरूले जारी गरेको विज्ञप्तिमा भने उदय त्यस दिन फिक्कलमै रहेको र गोर्खाल्याण्ड आन्दोलनसँग उनको कुनै सम्बन्ध नभएको उल्लेख गरिएको छ । उदय निर्माण व्यवसायीका रूपमा काम गरिरहेकाले गोर्खाल्याण्ड आन्दोलनसँग उदयको कुनै संलग्नता नभएको दाजु शरणले बताए ।

उदयको रिहाइको पहल गरिदिन माग गर्दै सूर्याेदय नपा–१० का वडाध्यक्ष पेमाउगेन लामासहितको टोली जिल्ला प्रशासन कार्यालय, इलाम आएको थियो ।