सल्यान, २७ साउन । दाङ तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको अपहरणपछि हत्या गरेको अभियोगमा पक्राउ परेका मुख्य योजनाकार मनबहादुर पुन, पूजा घर्तीसहित एघार जनालाई जिल्ला कारागार चलान गरिएको छ ।
उनीहरूलाई साउन २५ गते कारागार चलान गरिएको हो । तुलसीपुर उपमहानगरपालिका –१२ निवासी २५ वर्षीय अविरल महतारा, घोराही उपमहानगरपालिका –४ निवासी ४० वर्षीय रमेश भनिने मनबहादुर पुन, घोराही उपमहानगरपालिका– १४ निवासी ३८ वर्षीया जमा पुन, तुलसीपुर उपमहानगरपालिका– ६ निवासी २३ वर्षीय रुगत थापा मगरलाई प्रहरीले ०७४ असार १६ गते पक्राउ गरेको थियो ।
तुलसीपुर उपमहानगरपालिका– ८ नवासी २८ वर्षीय भुपेन्द्र भण्डारी, दङ्गीशरण गाउँपालिका– ५ का ३८ वर्षीय मानबहादुर भण्डारी, तुलसीपुर उपमहानगरपालिका– ६ निवासी १९ वर्षीया पूजा घर्ती मगर, तुलसीपुर उपमहानगरपालिका– ८ का ३४ वर्षीय टीकाराम घर्ती मगरलाई असार २७ गते प्रहरीले गिरफ्तार गरेको थियो ।
तुलसीपुर उपमहानगरपालिका– ९ का ४० वर्षीय नारायण वली, कोर्चाबाङग– १ दाङका ४० वर्षीय वीरे घर्ती र तुलसीपुर उपमहानगरपालिका– ११ का ३४ वर्षीय खुमबहादुर केसीलाई असार ३० गते प्रहरीले गिरफ्तार गरेको थियो ।
राजकुमार श्रेष्ठसंगै दाङका रणबहादुर घर्तीको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले अभियुक्तहरूलाई छुट्टा छुट्टै स्थानबाट पक्राउ गरेको थियो ।
दाङको तुलसीपुरबाट जेठ २६ गते साँझ नाटकीय रुपमा अपहरणमा परेका व्यापारी राजकुमार श्रेष्ठको शव २१ दिनपछि असार १६ गते सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिका– ४, झिम्पेको लेक भञ्ज्याङस्थित जंगलमा फेला परेको थियो ।












प्रतिक्रिया