२१ कार्तिक २०८३, शनिबार

सप्तरीमा स्वास्थ्यकी कर्मचारीले एकै समयमा दुई कार्यालयमा हाजिर गरेपछि…

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । सप्तरीमा स्वास्थ्यका एक कर्मचारीले एकै समयमा दुईवटा कार्यालयमा हाजिर गरिरहेको पाइएको छ । सप्तरीको कोइलाडी बरसाइन स्थित स्वास्थ्य चौकीमा अनमी पदमा कार्यरत लक्ष्मी पौडेल एकै समयमा दुई वटा कार्यालयमा हाजिर गरेकी छिन् ।

अनमी पौडेल स्वास्थ्य चौकी कोइलाडी बरसाइन र पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ मेडिकल एण्ड एलाइड साइन्स गोठगाउ, मोरङ्गमा एक साथ हाजिर गरिरहेकी छिन् । स्वास्थ्य चौकी कोइलाडीमा अनमी पदमा कार्यरत उनी गेठगाउ मोरङ्ग स्थित क्याम्पसमा पोस्ट ब्याच्लर अफ नरसिङ्ग अन्तर्गत पहिलो बर्षमा अध्ययनरत छिन् । उनी मोरङ्ग स्थित क्याम्पस कक्षामा दैनिक हाजिर हुने तर स्वास्थ्य चौकीमा भने कहिलेकाही उपस्थित भई सबै दिनको हाजिर गरिरहेकी छिन् । कोइलाडी बरसाइन स्थित स्थानीयले आफ्नो स्वास्थ्य चौकीमा कार्यरत अनमी पौडेल कार्यालयमा नआइ तलब खाएको गुनासो गरेपछि यस्तो सार्वजनिक भएको हो ।

कोइलाडी बरसाइन स्वास्थ्य चौकीका इन्चार्ज राजेश कुमार यादवले भने अनमी लक्ष्मी पौडेल आफ्नो कार्यालयमा दैनिक हाजिर भइरहेको बताए । उनले भने – ‘हाम्रो कार्यालयमा दैनिक हाजिरी छ । अरु मलाई थाहा भएन ।’ अनमी पौडेल जेठ र असार गरी ११÷१२ दिन जति बिदामा बसेको स्वास्थ्य चौकी इन्चार्ज यादवले बताए । तर जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका खरिदार राजकुमार महतोले दुइ महिनामा त्यति धेरै दिन बिदा बस्न नपाउनुपर्ने, कसरी पायो भन्दै अनभिज्ञता प्रकट गरे ।

अनमी लक्ष्मी पौडेल लोकसेवा आयोगको सगरमाथा अञ्चल कार्यालयबाट अनमी पदका लागि लिएको विज्ञापन नम्बर ११००२÷०७२–७३ (महिला) तर्फको परीक्षामा उतीर्ण भई जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका लागि गएको चैत ०६ गते सिफारिस भएकी थिइन् । लोकसेवाले गरेको सिफारिस पत्रमा उनको ठेगाना मृगौलिया–९, मोरङ्ग उल्लेख छ ।

गलत हाजिर गरेको पाइए कार्वाही हुने

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख नगेन्द्र प्रसाद चौधरीले कार्यालयमा उपस्थित नभई हाजिर गरेको पाइए कार्वाही हुने बताएका छन् । उनले गलत कार्यमा संलग्न सबैलाई कार्वाही हुने बताए । उनले भने – ‘यो विषयमा मलाई जानकारी थिएन । यदि त्यस्तो भएको रहेछ भने गलत तरिकाले हाजिर गराउने स्वास्थ्य चौकी कोइलाडी बरसाइनका इन्चार्जलाई समेत कार्वाही हुन्छ ।’ यस विषयमा स्वास्थ्य चौकी इन्चार्ज राजेश कुमार यादवसंग आफूले लिखित जवाफ माग गर्ने बताए ।

क्याम्पसमा पनि दैनिक हाजिरी

स्वास्थ्य चौकीमा अनमी पदमा कार्यरत लक्ष्मी पौडेल पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ मेडिकल एण्ड एलाइड साइन्स गोठगाउ, मोरङ्गमा आफ्नो कक्षामा दैनिक हाजिर भएकी छिन् । क्याम्पसका बरिष्ठ प्रशासकीय अधिकृत जनकमणि तिम्सिनाका अनुसार उनी कक्षाको समयमा दैनिक उपस्थित छन् । क्याम्पसमा अध्ययनरत विद्यार्थीको हाजिरी ८० प्रतिशत पुग्नै पर्ने बाध्यात्मक व्यवस्था रहेकाले अध्ययन पुरा गर्न पनि पौडेल उपस्थित हुनैपर्ने बाध्यता रहेको तिम्सिनाले बताए ।
उनका अनुसार पोष्ट ब्याचलर नरसिङ्गमा अध्ययनरत विद्यार्थीको कक्षा विहान ७ बजे देखि २ बजे सम्म दैनिक हुन्छ ।

छात्रवृतिमा अध्ययन गर्दै

नेपाल सरकारको अनमी पदमा कार्यरत लक्ष्मी पौडेल उक्त क्याम्पसमा पूर्ण छात्रवृतिमा अध्ययन गर्दै छिन् । मोरङ्गको सुन्दर हरैंचा नगरपालिका ८ मा अवस्थित क्याम्पसले स्थानीय एक जना विद्यार्थीलाई दिइने पूर्ण छात्रवृति अनमी पौडेलले पाएकी छिन् । क्याम्पसका बरिष्ठ प्रशासकीय अधिकृत तिम्सिनाले भने –‘क्याम्पसको नियम अनुसार स्थानीय एक जना विद्यार्थीले पाउने छात्रवृति लक्ष्मी पौडेलले पाएकी हुन् । उनी सरकारी सेवामा रहेको बारे क्याम्पसलाई जानकारी छैन ।’

उनी छात्रवृतिमा अध्ययन गर्दै नेपाल सरकारको तलब समेत कार्यालयमा उपस्थित नभइकन हाजिर मात्र गरेर बुझ्दै छिन् ।