काठमाडौं, २६ साउन । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले हालै सरुवा भई आ–आफ्नो कार्यक्षेत्रमा खटिई जान लागेका प्रहरी उपरीक्षक (एसपी)लाई गुण्डागर्दी नियन्त्रणमा सम्झौता नगर्न निर्देशन दिएका छन् ।
बढुवा भएका एसपीहरुलाई मन्त्रालयमा बोलाएर मन्त्री शर्माले निर्देशन दिँदै भने, ‘गुण्डागर्दीका कारण सेवा प्रवाहमा समस्या सिर्जना भयो भने मान्य हुने छैन, गुण्डागर्दी नियन्त्रण गर्न आवश्यक उपाय अवलम्बन गर्नुस् ।’
‘मेरो पार्टीका मान्छेले गुण्डाको संरक्षण गरेमा मलाई मान्य हुनेछैन,’ मन्त्री शर्माले अगाडि भने, ‘विभिन्न श्रेणीका गुण्डाहरु जसले प्रहरी अफिसरको टेवुलमा खुट्टा पसार्ने हर्कत गर्छन, तीनलाई कसरी तह लगाउने त्यो तपाईको हातमा छ ।’
प्रहरी उपरीक्षकहरुलाई व्यवहारिक बन्न आग्रह गर्दै मन्त्री शर्माले कानुन देखाएर पन्छने काम नगर्न समेत निर्देशन दिए । ‘नाकाहरुमा लाईन र सेटिङ छन् रे, त्यो बन्द हुनुपर्छ’ मन्त्री शर्माले भने, ‘सेटिङमा प्रहरीको मिलेमतो हुनेगरेको आरोप छ, त्यसलाई तपाईहरुले व्यवहारबाट खण्डन गर्नुपर्छ ।’
‘जिल्लाहरुमा गिट्टी, ढुंगा र काठको अवैध ब्यापार बन्द हुनुपर्छ’ मन्त्री शर्माले भने, ‘जनतासँगको सहकार्य प्रधान कुरा हो, सहकार्य गर्न सक्नुपर्छ ।’
प्रहरी जवानको मनोवल उच्च राख्न शौचालय, ब्यारेक र मेशको अवस्थामा सुधार गर्न निर्देशन दिँदै उनले भने भने, ‘तपाईहरुले हप्तामा एक पटक जवानहरुसँग भेटेर गुनासो सुन्नुपर्छ ।’
जिल्ला प्रमुखको रुपमा सरुवा भएका प्रहरी उपरीक्षकहरुलाई १५ दिनभित्र आफ्नो तीन महिने कार्ययोजना पेश गर्न निर्देशन दिँदै मन्त्री शर्माले भने, ‘तीन महिनामा तपाईहरुको मुल्यांकन गरिने छ ।’
कुनै पनी दलप्रति लचक नहुन आग्रह गर्दै मन्त्री शर्माले संविधान विरोधी तत्वलाई छुट नदिन निर्देशन दिए । ‘कार्यक्षेत्रमा काम गर्दागर्दै हुने गल्तीलाई अन्यथा लिईने छैन्’ उनले भने, ‘मैले दिएको आदेशप्रति म पुर्णरुपमा जिम्मेवार हुनेछु ।’
प्रहरी कर्मचारीहरुको कार्य सम्पादन मुल्यांकन गोप्य रुपमा राखिने परम्पराको अन्त्य गर्ने उद्घोष गर्दै मन्त्री शर्माले भने, ‘३० बर्षे सेवा अवधी विवादबाट मुक्त गर्दा तपाईहरुको वृत्ति विकासमा ध्यान दिइने छ ।’












प्रतिक्रिया