– मिना बुढाथोकी
सल्यान, २४ साउन । राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्रीय टोलीले जिल्लाको मानव अधिकार, सुशासन, दिगो विकास र वातावरणको अवस्था बुझन सल्यान आइपुगेको छ ।
राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रीय प्रमुख मुरारी खरेल र आयोगका टंक खनालले जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा सम्बन्धित सरोकारवाला संग छलफल गरिरहनु भएको छ । आयोगले साउन २२ गते देखी जिल्ला स्थित मानवअधिकार कर्मी,संचारकर्मी, सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकाय प्रमुखसंग जिल्लाको मानव अधिकारको विषयमा छलफल गरि रहेको आयोगका क्षेत्रीय प्रमुख खरेलले जानकारी दिनुभयो ।
उहाँले अहिले मानवअधिकार हननको सबै भन्दा ठुलो विषय भनेको बाल विवाह रहेको बताउनुभयो । बाल विवाह गर्नेको संख्या विकराल रुपले बढी रहेको भन्दै उहाले अहिले यो समस्या क्षेत्रीय स्तरमा बढी रहेको बताउनु भयो । विभिन्न जिल्लामा मानवअधिकार अनुगमनका क्रममा बाल विवाह गर्नेको संख्या व्यापक रुपमा बढेको भन्दै उहाँले स्थानीय स्तरबाट न्युनिकरण गर्न पहल गर्नुपर्ने बताउनुभयो । साथै बाल विवाह न्युनिकरणमा गम्भीर भएर लाग्न सम्बन्धित सबैलाई आग्रह गर्नु भयो ।
मानव अधिकार आयोगको टोली संगको छलफलका क्रममा स्थानीय मानवअधिकार कर्मी तथा संचारकर्मीले जिल्लाको मानव अधिकारका बारेमा विश्लेषण गरेका थिए । जिल्लामा अहिले बाल विवाहका साथै महिला हिंसा अन्तरगत घरेलु हिंसा बढी रहेको, बलात्कारका घटना दिन प्रतिदिन बढ्दै गएको, उपभोक्ताको अधिकार सुनिश्चित हुन नसकेको, स्वास्थ्य सेवा सर्वसुलभ रुपले पाउन नसकेको, गुणस्तरीय शिक्षा लगायतका समस्याहरु रहेको बताएका छन ।
यस्तै, आयोगको टोलीले आज मंगलबार स्थानीय जनप्रतिनिधिसंग स्थानीय निकायको अधिकार, बुझाई र कार्यान्वयनका विषयमा छलफल गरेको जनाएको छ ।














प्रतिक्रिया