काठमाडौं, २३ साउन । आ–आफ्नो टिमलाई निराश पार्दै गोल्डेनगेट ‘बी’ र प्राइम ‘डि’ ले नेबा प्रेसिडेन्ट कप थ्री बाइ थ्री राष्ट्रव्यापी पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । दुवै फाइनल प्रतिस्पर्धात्मक रह्यो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको पुरुष फाइनलमा गोल्डेनगेट ‘बी’ ले गोल्डेनगेट ‘ए’ लाई २१–२० को झीनो अन्तरले पराजित ग-यो ।
विजयी टिमका लागि अशिम श्रेष्ठ र राजिव जोशीले ७–७, विक्रम डंगोलले ५ तथा अनिश शाहीले २ अंक जोडे । विजेताले ४० हजार नगद पुरस्कार पायो भने उपविजेताले २० हजार नगदमा चित्त बुझायो ।
नेपाल बास्केटबल संघ (नेबा) को सहकार्यमा ललितपुर जिल्ला बास्केटबल संघले आयोजना गरेको प्रतियोगिताको महिला उपाधि भिडन्तमा
प्राइम ‘डि’ ले प्राइम ‘ए’ लाई १३–११ ले हरायो । जितमा लुनिभा सिंहले १०, सिर्जना गिरीले २ र येति क्षेत्रीले १ अंक योगदान गरे । प्राइम ‘डि’ ले ३० हजार तथा प्राइम ‘ए’ ले १५ हजार नगद पुरस्कार हात पारे ।
पुरुषमा राजिव जोशी र महिलामा लुनिभा सिंह ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । उपाधि विजेता टोलीका दुवैलाई समान ७–७ हजार नगदबाट पुरस्कृत गरियो ।
लिग कम नकआउट आधारमा भएको प्रतियोगिताको अन्तिम दिन आइतबार सबै चरणका नकआउट खेल भएका थिए । पहिलो दिन शनिबार समूह चरणको खेल खेलाइएको थियो ।
विजेतालाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका उपाध्यक्ष एवं एनओसीका महासचिव समेत रहेका नेबाका अध्यक्ष लामा टेन्डी शेर्पा, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, नेबाका उपाध्यक्ष भुवनसिंह गुरुङ, महासचिव नरेन्द्र थापा, आयोजक ललितपुर जिल्ला बास्केटबल संघका महासचिव शरद् विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगिताको पुरुषमा ४८ तथा महिलामा १२ गरी ६० टिम सहभागी थिए ।















प्रतिक्रिया