– नरेश केसी
भैरहवा, २० साउन । रुपन्देहीको रोहिणी गाउँपलिकाको धकधई क्षेत्रमा पर्ने सेमरा स्थित पजरकट्टी माध्यमिक विद्यालयका एक शिक्षकले आफुले अध्यापन गराउने विद्यार्थीलाई विद्यालयमा कुटपिट गरेका छन् ।
बुधबार दिउँसो कक्षा पाँचमा अध्ययनरत १० बर्षका समसुद्धिन धोवीलाई शिक्षकले निर्घात कुटपटि गरेका छन् । शिक्षक रामबृक्ष यादवले उक्त बिद्यार्थीलाइ कुटपिट गरेको बिद्यालयका प्रधानाध्यापक पुर्णवासी प्रसाद गुप्ताले बताएका छन् ।
प्रधानाध्यापक गुप्ताका अनुसार उक्त बालक दिउँसोको समयमा पानी खान भनी बाहिर निस्कीएको बेला शिक्षक यादव कक्षामा प्रबेश गरेका थिए र पछि बिद्यार्थी बाहिरबाट आएपछि कहाँ गएको भन्दै कुटपिट गरेका हुन् । यसरी बिद्यार्थीलाई शिक्षा र ज्ञानका कुरा सिकाउने निकायमै बिद्यार्थीहरु सुरक्षित नभएपछि सो क्षेत्रका स्थानीयबासीहरु आक्रोशित भएका छन् । स्थानीयवासी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य ताहिर अलीले विद्यार्थी कुटने शिक्षकलाई कारवाही हुनुपर्ने बताए । उनले ऐन कानुनमा पनि शिक्षकले विद्यार्थीलाई कुनै पनि बहानामा कुटपिट गर्न नपाउने बताए ।
पिडित बालकको भैरहवा स्थित सिद्धार्थनगर सिटि हस्पिटल प्रा.लि.मा उपचार भइरहेको छ भने पिडक शिक्षकलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा हिरासतमा राखिएको प्रहरीले जनाएको छ । घटना लगत्तै बिहिबार बिद्यालय परिसरमा स्थानीय अभिभावक तथा राजपा विद्यार्थी संगठन रुपन्देहीले विद्यालय घेराउ गरि तालाबन्दी गरि नाराबाजी गरेका थिए ।













प्रतिक्रिया