४ कार्तिक २०८३, बुधबार

खानेपानीका लागि त्रिपक्षीय सम्झौता

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, २० साउन । ‘एक घर एक धारा’ अभियानअन्तर्गत चाँगुनारायण नगरपालिकाका दुईवटा बस्तीमा धारा जडानका लागि बिहीबार त्रिपक्षीय सम्झौता भएको छ ।

चाँगुनारायणको मनोहरा बेँसी र पिखेल पकुनेपाटीमा खानेपानी विस्तारका लागि दाता ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड), स्थानीय उपभोक्ता समिति र सहयोगी संस्था युवा क्रियाकलाप सामाज (सोया)बीच त्रिपक्षीय सम्झौता भएको हो ।

सम्झौताअनुसार चाँगुनारायणको मनोहरा बेँसीका २७५ र पिखेल पकुनेपाटीका १०६ घरधुरीमा खानेपानी विस्तार हुने भएको छ । खानेपानी विस्तारका लागि फण्ड बोर्डले आवश्यक आर्थिक सहयोग गर्ने र सोयाले प्राविधिक सहयोग गर्ने सम्झौतामा उल्लेख गरिएको सोयाका प्रबन्ध निर्देशक पहलमान श्रेष्ठले बताउनुभयो ।

सोयाले गत वर्षदेखि फण्ड बोर्डको आर्थिक सहयोगमा जिल्लाका ६ वटा बस्तीका घरघरमा खानेपानीको धारा विस्तारका लागि काम गर्दै आइरहेको छ ।

ती आयोजनामा मनोहरा बेँसी खानेपानी तथा सरसफाइ आयोजना, पिखेल (पकुनेपाटी) खानेपानी तथा सरसफाइ आयोजना, छालिङ्ग (थापागाउँ) खानेपानी तथा सरसफाइ आयोजना, बहालवन काफ्ले टोल ग्रामीण खानेपानी तथा सरसफाइ आयोजना, सिपाडोल बृहत् खानेपानी तथा सरसफाइ आयोजना र आशापुरी खानेपानी तथा सरसफाइ आयोजना रहेका छन् ।

यी ६ वटै आयोजनामा पूर्व विकास चरणका कार्यहरु र विकास चरणको सम्पूर्ण कार्य पूर्णरुपमा सम्पन्न भइसकेको सोयाले जनाएको छ । आयोजना कार्यस्थलमा सम्पन्न सम्झौतापत्रमा फण्ड बोर्डका कार्यक्रम व्यवस्थापक रियाज आलम, सोयाका अध्यक्ष राधेश्याम दुवाल, उपभोक्ता समितिका अध्यक्षहरु गणेशबहादुर श्रेष्ठ र जयन्द्र खड्काले हस्ताक्षर गर्नुभएको थियो । रासस