काठमाडौं, १९ साउन । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले असन्तुष्ट पक्षका नेताहरूलाई फकाउने प्रयास गर्नुभएको छ ।
अध्यक्ष ठाकुरले पदाधिकारी बैठक बस्नुअघि बिहीबार बिहान असन्तुष्ट पक्षका नेता हृदयश त्रिपाठी, शर्बेन्द्रनाथ शुक्ला, बृजेशकुमार गुप्तासहितका नेताहरूसँग परामर्श गर्नुभएको हो । स्रोतले भन्यो, ‘हृदयश त्रिपाठी, शर्बेन्द्रनाथ शुक्ला, बृजेशकुमार गुप्तासहितका नेताहरूसँग अध्यक्षज्यूले वार्ता गर्नुभएको छ । तर, के समहमति भयो खुल्न सकेको छैन ।’
राजपा नेपालका महासचिव केशव झाले असन्तुष्ट नेताहरूलाई पदाधिकारी बैठकमा ल्याउने प्रयास अध्यक्ष महन्थ ठाकुरले गरिरहनु भएको जानकारी आफूले पाएको बताउनुभयो ।
अर्का महासचिव मनीषकुमार सुमनले पदाधिकारी बैठक चलिरहेको र साउन २२ गतेदेखि केन्द्रीय कार्यसमिति सुरु हुने सन्दर्भमा असन्तुष्ट देखिएका नेताहरूलाई मनाउने प्रयास भएको बताउनुभयो ।
पदाधिकारीहरूको बैठकमा बिहीबार पनि अधिकांश पदाधिकारीहरूले संविधान संशोधन नहुँदासम्म निर्वाचनमा जान नहुने धारणा राखेका छन् । तर, केही नेताहरूले संविधान संशोधनबाहेकका माग पूरा हुन्छ भने निर्वाचनमा सहभागी हुनेपर्ने धारणा राखेका थिए ।
राजपा नेपालका महासचिव अजय गुप्ताले संविधान संशोधनको प्रस्तावलाई सदनमा अगाडि बढाउनुपर्ने धारणा राखेको बताउनुभयो ।
‘संविधान संशोधन विधेयकलाई अगाडि बढाउनु पर्छ’, उहाँले भन्नुभयो, ‘विधेयकको पक्ष र विपक्षमा को–को छन् भन्ने स्पष्ट हुनेछ । हामी निर्वाचनमा सहभागी हुनुपर्छ ।’
केन्द्रीय कार्यसमितिको बैठक बोलाउन दवाव दिएको असन्तुष्ट पक्षका नेता हृदयश त्रिपाठी, शर्बेन्द्रनाथ शुक्ला, बृजेशकुमार गुप्तासहितका नेताहरू बिहीबारको बैठकमा पनि सहभागी हुनुभएन ।
















प्रतिक्रिया