काठमाडौं, १९ साउन । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा.स्वर्णिम वाग्लेलाई नियुक्त गरेका छ ।
बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले डा.वाग्लेलाई आयोगको उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि उहाँ आयोगको सदस्य हुनुहन्थ्यो ।
सार्वजनिक वित्त, अन्तर्राष्ट्रिय व्यापार, लगानी र प्रतिस्पर्धात्मक क्षमताका विज्ञ वाग्ले यसअघि तत्काल प्रधानमन्त्री सुशील कोइरालाको सरकारमा पनि योजना आयोगका सदस्य हुनुहन्थ्यो ।
अष्ट्रेलियको अष्ट्रेलियन नेश्नल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधी गर्नुभएका वाग्लेले अमेरिकाको हार्भड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र बेलायतको लण्डन स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गर्नुभएको छ ।
उहाँले विश्व बैंकको मुख्यालय वासिङटन डिसिमा वरिष्ठ अर्थशास्त्रीको रुपमा समेत लामो समय काम गर्नुभएको छ ।
राष्ट्रसंघीय विकास कार्यक्रममा पनि उहाँसँग नीति विश्लेषकको रुपमा काम गरेको अनुभव छ । उहाँको दर्जनभन्दा बढि अर्थशास्त्र सम्वन्धी प्राज्ञिक लेख अन्तराष्ट्रिय जर्नलमा प्रकाशित छन् ।
उहाँ २०४६ सालको एसएलसीका वोर्ड सेकेण्ड हुनु भएको थियो । उहाँलाई प्रभावशाली युवा अर्थशास्त्रीको उपमा दिएर अन्तर्राष्ट्रिय मिडियाहरूले लेख्ने गरेका छन् ।















प्रतिक्रिया