काठमाडौँ, १२ कात्तिक । मलेसियामा जारी आइसिसी विश्व लिग क्रिकेट डिभिजन थ्रीमा नेपालले आयोजक मलेसियालाई पराजित गर्दै डिभिजन टु मा बढुवा भएको छ ।
मलेसियाको किनरारा ओभल मैदानमा भएको सो प्रतियोगितामा वर्षाका कारण खेल प्रभावित भएपछि नेपालले मलेसियालाई डक वर्थ लुइस नियमका आधारमा ३६ रनले पराजित गर्दै डिभिजन टु मा आफ्नो स्थान सुरक्षित गर्दै फाइनल चरणमा प्रवेश गर्यो ।
प्रतियोगितामा नेपाल आठ अङ्कका साथ लिगको शीर्ष स्थान हासिल गर्दै डिभिजन टु मा बढुवा भएको हो । त्यस्तै, समान ८ अङ्क नै जोडेको युगान्डा पनि रनरेटको आधारमा लिगको दोस्रो स्थानमा रही डिभिजन टु मा बढुवा भएको छ ।
प्रतियोगितामा शीर्षस्थान हासिल गर्ने दुई टोली डिभिजन टु मा बढुवा हुने प्रावधान थियो । यस जितसँगै नेपालले डिभिजन थ्री को उपाधि भिडन्तमा भोलि युगान्डासँग प्रतिस्पर्धा गर्नेछ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले ४३ दशमलब ३ ओभरमा सबै विकेट गुमाउँदै १४२ रनमा समेटियो । १४३ रनको विजय लक्ष्य पच्छाएको नेपाल २५ ओभरमा २ विकेट गुमाउदै ८९ रन बटुल्यो ।
नेपालले ८९ रनको स्कोर बनाएपछि वर्षाका कारण खेल अगाडि बढ्न नसक्दा खेल डकवर्थ लुइसका आधारमा विजेता घोषणा गरिएको हो ।
नेपालको जितका लागि नरेश बुढा ऐरले ४२ रनको योगदान दिए । त्यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले ३५, सुवास खकुरेलले तीन र कप्तान पारस खड्काले एक रन जोडे ।
मलेसियालाई १४२ रनमा समेट्ने क्रममा कप्तान पारस खड्काले चार विकेट लिए भने भुवन कार्कीले तीन, शक्ति गौचनले दुई तथा सागर पुनले एक विकेट लिए ।














प्रतिक्रिया