१० मंसिर २०८३, बिहिबार

महन्थ ठाकुर र असन्तुष्ट पक्षबीच वार्ता, त्रिपाठी र शुक्ला बैठकमा गएनन्

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विमल योगी

काठमाडौं, १८ साउन । राष्ट्रिय जनता पार्टी नेपालभित्र बढ्दै गरेको आन्तरिक विवाद मिलाउ अध्यक्ष महन्थ ठाकुर र दोस्रो तहका नेताहरूले पहल थालेका छन् । तर, अझै बिबाद मिल्ने संकेत देखिएको छ ।

बबरमहलस्थित नयाँ पार्टी कार्यालयमा बुधबारबाट सुरु भएको पदाधिकारी बैठकमा असन्तुष्ट पक्ष नआउने जानकारी पाएपछि अध्यक्ष ठाकुरले सो समूहसँग भेटवार्ता गरी सहमतिमा आउन आग्रह गर्नुभएको थियो । जवाफमा असन्तुष्ट पक्षले पार्टीभित्रको बरीयता विवाद र अन्य विभिन्न पक्षलाई मिलाउन सुझाव दिएको थियो ।

सिंहदरबारमा बुधबार बिहान झण्डै दुई घण्टा असन्तुष्ट पक्ष र अध्यक्ष महन्थ ठाकुरबीच वार्ता भएको थियो । सो वार्तामा पार्टीलाई कसरी बलियो बनाएर लैजान सकिन्छ भनेर अध्यक्ष महन्थ ठाकुरसँग कुराकानी भएको नेता शर्वेन्द्रनाथ शुक्लाले जानकारी दिनुभयो । ‘हामीलाई पार्टी विभाजनको आरोप लगाइएको छ । यो सरासर झुठो हल्ला हो’, उहाँले भन्नुभयो, ‘पार्टी एकताको पक्षमा त हामी सधैँ थियौँ । बरु पार्टी एकताको मर्मअनुसारको काम भयो कि भएन भन्ने प्रश्न हाम्रो हो ।’

पदाधिकारीहरूको बैठकमा किन सहभागी हुनु भएन भन्ने प्रश्नको जवाफमा नेता शुक्लाले भन्नुभयो, ‘केन्द्रीय कार्यसमितिको बैठक हामीले नै बोलाउन भनेका हौँ । त्यो बैठकमा सहभागी हुन्छौँ । पदाधिकारी बैठकमा भने अनुपस्थित रह्यौँ ।’

अर्का नेता अकबाल अहमद शाहले पार्टीभित्र केही प्राविधिक समस्या रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टी एकताको मर्म र भावनाअनुसार चलेको देखिएन ।’ सांसद समेत रहनुभएका नेता शाहले भन्नुभयो, ‘पार्टीभित्रको विवाद मिलाउनका लागि केही पहल लिने आश्वासन अध्यक्षबाट पाएका छौँ ।’

महासचिव केशव झाले केन्द्रीय कार्यसमितिको तयारी स्वरुप पदाधिकारीहरूको बैठक बसेको जानकारी दिनुभयो । ‘साउन २२ गतेदेखि केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ’, उहाँले भन्नुभयो, ‘अध्यक्षज्यूले तयारपार्नु भएको राजनीतिक, सांगठनिक, विधानलगायतका प्रस्तावहरू पेश भएको छ ।’

पदाधिकारी बैठकमा केही नेता बाहेक सबै अनुपस्थित रहेको महासचिव मनीषकुमार सुमनले जानकारी दिनुभयो । ‘केही नेताहरू बाहेक सबै पदाधिकारी बैठकमा आउनु भएको छ’, सुमनले भन्नुभयो ।