पाल्पा, १२ कात्तिक । नाकमा लगाउने बुलाकी, निधारमा लगाउने सुनका टीका, कानमा लगाउने मडेरी, घाँटीमा लगाउने ढुङ्री, कपालमा लगाउने क्लिपलगायतका पुराना गहना अहिले लोप हुने अवस्थामा पुगेका छन् ।
बुढापाकाले लगाउने पुरानो शैलीका सुनका गरगहना आधुनिकताका कारण अहिले पाल्पालगायतका जिल्लामा लोप हुने अवस्थामा पुगेका हुन् ।
पुराना सुनका गरगहना बनाउन कामदार र नयाँ पुस्ताले आधुनिक डिजाइनका सुनका गहना प्रयोग गर्न थालेसँगै पुराना गहना विस्थापित हुन थालेको पाइन्छ ।
बुढापाकाले लगाउने सुनका बुलाकी, नअथी, मडारी, फुली, टीका, ढुङ्ग्री, क्लिपलगायतका सुनका गहना पहिला विवाहमा बेहुलीका लागि अनिवार्य लगाउनुपर्ने चलन थियो ।
सुनका गहना पहिलाको तुलनामा महँगो बन्नुले पनि महिला त्यस्ता सुनका गहना प्रयोगमा कमी हुन थालेको सुनचाँदी व्यवसायीको भनाइ छ । नाकमा बुलाकी लगाउने कहिलेकाहीँ मात्र देख्न सकिने पाल्पा झिरुवासकी देवीकला सारुलेको भनाइ छ ।
सुनचाँदी पसलमा समेत अहिले पुराना मोडलका गहना बन्न छाडेको र पुराना मोडलका गहना जान्ने कामदारको समस्या पाल्पा, गुल्मी, स्याङ्जामा अभाव रहेको पाल्पाका सुनचाँदी व्यवसायी कमल गहतराजको भनाइ छ ।
मानिस अहिले आधुनिक प्रकारका गहना प्रयोग गर्न चाहन्छन् । पुराना मोडलका गहना पुराना गाउँघरमा बस्ने सुनचाँदी व्यवसायीले काम गर्न जानेको उहाँको भनाइ छ । पाल्पा जिल्लाको तानसेन, हार्थोक, आर्यभञ्ज्याङ, कसेनी, ताहु, छहरा, अर्गली, अम्लाबास, रामपुरलगायतका स्थानमा सुनको कारोबार बढी हुने गरेको पाइन्छ ।
यी पसल आधुनिक मोडलका सुनका औँठी, सिक्री, जन्तर, टपलगायतका सामान क्याटलग प्रयोग गरी गहना बनाउन आउने रामपुरका जीवन गहतराजको भनाइ छ । रासस














प्रतिक्रिया