१ कार्तिक २०८३, आइतबार

प्रतिभा साहास स्पोर्टस्की ब्राण्ड एम्बासडर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ साउन । नेपाली महिला भलिबल टिमकी महत्वपूर्ण सदस्य तथा न्यु डायमण्ड स्पोर्टस् एकेडेमीका मुख्य खेलाडी प्रतिभा माली खेल पोशाक (स्पोर्टस वेयर) कम्पनी उत्पादक साहास स्पोर्टसको ब्राण्ड एम्बासडर बनेको छ ।

मंगलबारबाटै औपचारिक रुपमा शुरु भएको साहास स्पोर्टसले महिला भलिबलकी युवा खेलाडी प्रतिभालाई एक वर्षको लागि कम्पनीको ब्राण्ड एम्बासडरको रुपमा नियुक्त गरेको हो ।

सहमति अनुसार प्रतिभाले वार्षिक १ लाख २० हजार रुपैया नगद तथा खेल पोशाकको ५० हजार गरी १ लाख ७० हजार प्राप्त गर्नेछ । सम्झौता पत्रमा साहास स्पोर्टस्का अध्यक्ष तथा प्रबन्ध निर्देशक जनक न्यौपाने र खेलाडी प्रतिभा मालीले हस्ताक्षर गरे ।

प्रतिभालाई साहास स्पोर्टसले हरेक महिना १० हजार रुपैयाँ तथा बर्ष भर खेल पोशाक उपलब्ध गराउनेछ ।

यस्तै साहास स्पोर्टसले न्यू डायमन्ड एकेडेमीको महिला भलिबल टोलीलाई एक बर्षको लागि करिव १ लाख ७५ हजार बराबरको खेल पोशाक पनि प्रायोजन गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा साहास स्पोर्टसका प्रबन्ध निर्देशक जनक न्यौपाने र न्यु डायमण्ड स्पोर्टस् क्लबका अध्यक्ष तथा नेपाल भलिबल संघकी कोषाध्यक्ष सुनकेशरी मालीले हस्ताक्षर गरे ।

साहास स्पोर्टसले न्यू डायमन्ड एकेडेमीलाई एक बर्षमा ५० सेट जर्सी र ५० सेट ट्रायक सुट उपलब्ध गराउने छ । प्रतिभा र न्यू डायमन्डलाई वार्षिक ३ लाख रुपैयाँ बराबरको प्रायोजना गरिएको न्यौपानेले जानकारी दिए ।

एम्बासडरमा नियुक्त भएकी प्रतिभाले एम्बासडरको रुपमा भलिबल र मलाई नै रोजेकोमा धन्यवाद र खुशी ब्यक्त गर्दै प्रतिभाले साहस स्पोर्टस्लाई अघि बढाउन आफु लगायत टिमको साथ रहिरहने बताईन् ।

यस्तै सम्झौता कार्यक्रममा बोल्दै साहास स्पोर्ट्सका प्रबन्ध निर्देशक जनक न्यौपानेले भर्खरै राष्ट्रिय खेलको मान्यता पाएको राष्ट्रिय खेल भलिबलसँग कम्पनीको शुरुवातसँगै जोडिन पाउन खुशी लागेको बताए ।

‘केही महिनाअघि मात्र सरकारले भलिबललाई राष्ट्रिय खेलकुदको मान्यता दिएको छ । अब यसको प्रचार–प्रसार र विकासमा हामी सबैले साथ दिनुपर्दछ ।’ अध्यक्ष न्यौपानेले भने, ‘त्यसैको प्रयास स्वरुप हामीले प्रतिभा र न्यू डायमन्डलाई कम्पनीको लञ्चसँगै छनोट गरेका हौं । आशा छ हाम्रो प्रयासले उहाँहरुलाई उच्च प्रदर्शन गर्न थप हौसला मिल्नेछ ।’

यस्तै अध्यक्ष न्यौपानेले सबै खाले खेलकुदका पोशाकको सहज र स्तरीय उत्पादन गर्नुकै कम्पनीको मुख्य उद्देश्य रहेको र यसमा साथ दिन सबैलाई अनुरोध गरे ।

यस्तै नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले साहासले ठुलो साहास लिएर अघि आएको बताए ।

संघका महासचिव जितेन्द्र बहादुर चन्दल साहासको भविष्य उज्वल रहेको र प्रतिभा साहासको ब्राण्ड एम्बासडर बन्नु नेपाली भलिबलको लागि गर्वको कुरा रहेको बताए ।

यस्तै नेपा खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्यले साहासले शुसरुवातबाटै ठुलो साहास लिएर अघि आएको बताए ।

न्यु डायमण्ड एकेडेमीका प्रिन्सिपल तथा प्रशिक्षक कुमार राईले विगतको १० वर्षयता न्यु डायमण्डले पनि ठुलो साहास गर्दा न्यु डायमण्ड नेपाली भलिबलमा यहाँसम्म आइपुगेको प्रतिक्रिया दिदै साहास पनि निकट भविष्यमा नेपालको खेल जगतमा ठुलो कम्पनीको रुपमा स्थापित हुने बताए ।

उनले एकडेमीमा अहिले निरन्तर २६ भन्दा बढी खेलाडीले निरन्तर प्रशिक्षण गरिरहेको बताउदै छिट्टै स्तरी भलिबल खलाडी उत्पादन हुने पनि बताए । ‘विगतमा हामीलाई भलिबल खेल्न निकै गाह्रो थियो । हामीलाई अहिले कुनै स्पोन्सर थिएन ।’ प्रशिक्षक राईले भने, ‘शेर बहादुर खड्का स्मृति प्रतिष्ठानबाट शुरु भएको हाम्रो स्पोन्सर शिवम् सिमेन्ट हुदै साहाससम्म आइपुगेको छ । यसले अझ राम्रो खेल्न प्रेरित गरेको छ ।’

साहास स्पोर्टसले हरेक खेलका लागि जर्सी, ट्रयाक सुट, टि–सर्टलगायत अन्य खेल पोशाक उत्पादन गर्नेछ । साहासले काठमाडौंको चाइनटाउन र कमलपोखरीबाट मंगलबारै देखि बिक्री थालेको छ ।