२१ कार्तिक २०८३, शनिबार

सैनिकहरुको मनोबल बृद्धि गर्न सक्दो प्रयास गर्छुः रक्षामन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ साउन । रक्षामन्त्री भिमसेनदास प्रधानले आफ्नो कार्यकालमा सैनिकहरुको मनोबल बृद्धि गर्न सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।

जंगी अड्डामा आयोजित परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री प्रधानले नेपाली सेनाको गौरवमय इतिहास तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति तथा स्थायित्व कायम गर्न र राष्ट्र विकासमा पुर्याउँदै आएको महत्वपूर्ण योगदानको सह्राना गरे ।

साधन श्रोतको कमीका बावजुत नेपाली सेनाले आफ्नो व्यवसायिता तथा अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा प्रदर्शन गर्दै आएको दक्षता तथा प्रभावकारीता अत्यन्त सह्रानिय रहेको उल्लेख गर्दै उनले शान्ति सेनामा नेपाली सेनाको सहभागिता अझ बृद्धि गर्नुपर्नेमा जोड दिए ।

नेपाल दैवी प्रकोपको उच्च जोखिममा रहेको र नेपाली सेनाले विपद् व्यस्थापनमा विगतमा प्रशंसनिय कार्य गरेको उल्लेख गर्नु हुँदै रक्षा मन्त्रीले विपद् व्यवस्थापन क्षमता थप विकास गर्न जोड दिनुपर्ने कुरा व्यक्त गरे ।

काठमाडौं–तराई/मधेश दु्रतमार्गको सन्दर्भमा उनले उक्त द्रुतमार्ग राष्ट्रिय चासोको बिषय भएको र यसको निर्माण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई प्राप्त भएको हुँदा नेपाली सेनाको प्रतिष्ठालाई समेत मध्यनजर गरी यस द्रुतमार्ग आयोजनालाई द्रुतगतिमा सम्पन्न गर्न जुट्नु पर्ने समेत उल्लेख गरे ।

कार्यक्रमको शुभारम्भमा प्रधान सेनापति राजेन्द्र क्षत्रीले नवनियुक्त रक्षा मन्त्रीलाई नेपाली सेनाको तर्फबाट स्वागत गर्दै उनको कार्यकालमा नेपालको राष्ट्रिय सुरक्षा तथा नेपाली सेनाको समयानुकुल आधुनिकीकरण एवं पेशागत दक्षता विकासमा महत्वपूर्ण उपलब्धी हासिल हुने विश्वास व्यक्त गरे ।
नेपाली सेनाको संरचनालाई राष्ट्रिय सुरक्षा नीतिको मार्ग निर्देशन तथा संघिय संरचनाको स्वरुपलाई मध्यनजर राखी विस्त्रित सामरिक पुनरावलोकनको आधारमा पुनर्संरचना गर्दै लैजानु पर्नेमा जोड दिए ।

सो कार्यक्रममा समापन मन्तव्य दिदै बलाधिकृत रथी वलदेवराज महतले जंगी अड्डाद्वारा आयोजित परिचयात्मक कार्यक्रममा सहभागी भएकोमा नेपाली सेनाका तर्फबाट आभार व्यक्त गरे ।

उक्त कार्यक्रममा रक्षा सचिव श्री श्रीधर सापकोटा, नेपाली सेनाका पिएसओज रथीवृन्द, रक्षा मन्त्रालयका अन्य पदाधिकारीहरु एवं विभिन्न विभागसँग सम्बन्धित रथीवृन्दको समेत उपस्थिति रहेको थियो ।