
पोखरा, १५ साउन । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी संस्थागत ढंगले र सिस्टममा चलेमा भागबण्डाको राजनीति स्वतः अन्त हुने बताउनुभएको छ ।
पोखरामा आइतबार विपी स्मृति पार्कको उदघाटन गर्दै बरिष्ठ नेता पौडेलले पार्टीलाई संस्थागत रुपमा र सिस्टममा चलाउन जरुरी भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टी सिस्टममा चलाउने हो भने भागबण्डा हुँदैन् । सिस्टममा नचलाउँदाको परिणाम भागबण्डा हो ।’ पौडेलले पार्टी सभापति शेरबहादुर देउवातिर संकेत गर्दै यस्तो आरोप लगाउनु भएको हो ।
वरिष्ठ नेता पौडेलले कांग्रेसले आफूलाई संस्थागत गरेर नेपाली जनतालाई लोकतन्त्रको सिद्धान्त र मर्मका बारेमा जानकारी बुझाउन अझै जरुरी रहेको बताउनुभयो ।
उहाँले विपीको बाटोमा कांग्रेस हिडेको छ कि छैन समिक्षा गर्न जरुरी रहेको पनि बताउनुभयो । पौडेलले भन्नुभयो, ‘हाम्रो चरित्र हेरर जनताले कांग्रेसको मुल्याङकन गर्दछन् । कांग्रेसलाई वीपीको मुल्य मान्यता अनुसार चलाउन जरुरी छ ।’
नेता पौडेलले जनताका बीचमा कांग्रेसलाई लोकप्रिय बनाउनका लागि कांग्रेसका नेता कार्यकर्ताले इमान्दार बन्ने जनताका लागि काम गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।
बरिष्ठ नेता पौडेलले कांग्रेसको शक्ति बामपन्थीहरूको जस्तो जनतालाई जबरजस्ती गरेर हासिल गरेको शक्ति नभएको बताउनुभयो । उहाँले कांग्रेसले जनताको अन्तरआत्मालाई जित्न जरुरी रहेको बताउनुभयो ।











प्रतिक्रिया