
भक्तपुर, १४ साउन । दलहरुले बृद्धभत्ता ५ हजारसम्म पुर्याउने भन्दै चुनावमा भोट मागिरहेका बेला महिला तथा बालबालिका मन्त्री आशा कोइरालाले विवादास्पद अभिव्यक्ति दिएकी छिन् ।
शनिबार भक्तपुरको लोकन्थलीमा अग्रज समाज नेपालले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै मन्त्री कोइरालाले बृद्धभत्ता दोब्बर बनाउन नसकिने बताएकी हुन् । अहिले बृद्धभत्ता मासिक २ हजार रुपैँया छ । एमाले लगायतका दलहरुले भने ५ हजारसम्म बनाउने बताउँदै आएका छन् । कोइराला दुई दिन अघिमात्रै माओवादीबाट मन्त्री बनेकी हुन् ।
ज्येष्ठ नागरिकलाई दिँदै आएको भत्तामा वृद्धि गरेर दोब्बर, तेब्बर भत्ता दिनसक्ने अवस्थामा सरकार नरहेको बताउँदै उनले भनिन् – “सरकारले ज्येष्ठ नागरिकलाई भत्ता दिँदै आएको छ, अब बेरोजगार भत्तादेखि विभिन्न समूहले भत्ता माग्न थालेका छन्, मागे जतिलाई भत्ता वितरण गर्ने हो भने विकास बजेट सकिन्छ, देशको विकास अड्किन्छ ।”
विभिन्न समूहले भत्ता माग गर्दै आएको अवस्थामा विकास बजेट काटेर भत्तावितरण गर्न नसकिने उनको भनाइ थियो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोम मिश्रले ज्येष्ठ नागरिकलाई बोझ मान्ने परिवार बढ्दै गएको अवस्थालाई रोक्न नसके भयावह हुनसक्नेमा सचेत हुनुपर्ने बताए ।
अग्रज समाज नेपालका अध्यक्ष महाप्रसाद पराजुलीले जुनसुकै सरकारले पनि ज्येष्ठ नागरिकको मागलाई सम्बोधन नगर्ने र आश्वासन मात्रै दिने गरेको भन्दै रोष प्रकट गरे ।











प्रतिक्रिया