२१ कार्तिक २०८३, शनिबार

नाग पञ्चमीको दिन जिउँदो नागको पूजा गरेपछि… (फोटो फिचर)

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– गोविन्द पोखरेल

उर्लाबारी, १३ साउन । उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मी भण्डारी उमेरले ५७ पुगिन् । प्रत्येक वर्ष उनी नाग पञ्चमीको दिन तस्विरको नागलाई पुजा गर्थिन् । यस वर्षको नाग पञ्चमी भने उनका लागि विशेष रह्न गयो । सोचभन्दा बाहिर नाग पञ्चमीको दिन जिउदो नागको पुजा गर्ने अवसर प्राप्त गरिन् । उनलाई अवसर जुराइदिने व्यक्ति थिए, सर्प संरक्षक प्रेम विष्ट । पुजा गरिसकेपछि हर्षित हुदै भनिन्– ‘जिउँदो नागको पुजा गर्न पाउनु मैले कल्पना पनि गरेकी थिईन । अवसर जुराइदिनेलाई विशेष धन्यवाद । यसले सर्प संरक्षणका लागि विशेष टेवा पुग्छ ।’

शुक्रबार उर्लाबारी–३ थापाचोक स्थित शिवलिंग शिवालय मन्दिर परिसरमा नाग पुजा कार्यक्रमको आयोजना गरिएको थियो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र थापाको पहल र सर्प संरक्षक प्रेम विष्टको सहयोगमा नाग पुजा कार्यक्रम भइरहदा वडाध्यक्ष गञ्जबहादुर कार्की भन्दै थिए– ‘६४ वर्षसम्म कुनै सर्पको पुजा गरिएको थिएन,आज पुजा गर्न जुरेको रहेछ । अब सर्प देख्ने बित्तिकै मार्ने हैन, संरक्षण गर्नुपर्छ ।’

‘सर्पलाई कागजमा मात्र हैन, जिउँदो नागको रुपमा पनि पुजा गर्न सकिन्छ’ सर्प संरक्षक विष्ट भन्छन्– ‘आम मानिसमा सर्पलाई संरक्षण गर्नुपर्छ भन्ने भावना जागृत गराउनका लागि यो कार्यक्रमको आयोजना गरिएको हो ।’

सर्प संरक्षण र सर्प सम्बन्धिका भ्रम हटाउनका लागि नाग पञ्चमीको अवसर पारेर विष्टले शिवालय मन्दिरमा दुई वटा नाग (सर्प) ल्याएर पुजा गर्न वातवरण तयार पारिदिएका थिए ।

नाग पञ्चमीकै दिन जिउदो नागलाई पुजा गर्न पाउदा भक्तजनहरु हर्षित थिए । ‘नागपञ्चमीको दिने जिउदो नागलाई पुजा गर्न धेरै कमैले मात्र अवसर प्राप्त गर्छन्,’ स्थानीय निर्मला गौतमले भन्छिन्– ‘यसले धार्मिक महत्व सँगसँगै सर्प संरक्षणमा पनि टेवा पु¥याँउछ ।’

संरक्षक विष्टले महिलाहरुलाई लक्षित गरी ती नाग मन्दिरमा ल्याएका थिए । उनका अनुसार नेपालमा सर्पको डसाईबाट बढि महिलाहरुको मृत्यु हुने गरेको छ । विहान चुलोदेखि घाँसदाउरासम्म महिलाहरु काममै व्यस्त हुन्छन् । चेतना नहुँदा उनीहरुलाई सर्प डस्दा थाहा पाउदैनन् । उपचार गर्न ढिलो हुन्छ, अनि अकालमा मृत्यु हुने गरेको विष्ट बताउँछन् ।

जिउदो नागको पुजा गरिसकेपछि जनचेतना फैलाउदा प्रभावकारी हुने विष्टको ठहर छ । शुक्रबार उनले त्यही गरे । नाग पुजा गरिसकेपछि उपस्थितहरुलाई उनले सर्पबाट कसरी सुरक्षित हुने, सर्पले टोकेपछि के गर्ने, सर्पलाई किन संरक्षण गर्ने जस्ता विषयहरुको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा सहभागी स्थानीय युवा सुमितसेन थापाले भने– ‘सर्प सम्बन्धि सधैँ नकरात्मक भइयो, यसको सकारात्मक पक्षबारे जानकारी लिनका लागि कहिल्यै कोशिस गरिएन, त्यही भएर यसको संरक्षण हुन सकेन ।’

सर्पले आफूलाई असुरक्षित भएको महुशुस गर्दा मात्र टोक्छ । बासस्थान भत्किन थालेपछि सर्प मानिसको घरमा आएर बस्ने विष्टको भनाइ छ । उसलाई अवरोध भएपछि मानिसलाई टोक्छ । सर्पलाई माया गरे केही नगर्ने विष्टले बताए ।

‘सर्पले डस्ने बित्तिकै घाउ भएको स्थानलाई हल्लाउनुहुदैन । खुट्टामा टोकेको छ भने हलुका तवरले घुँडासम्म ब्याण्डेज लगाउनुपर्छ’ उनले भने–‘अनि दुवैपट्टि काम्रो लगाएर जतिसक्दो चाँडो अस्पताल पुग्ने । ट्यिूब, इजार, पाइपले बाँध्दा घाउ झन फैलन सक्छ, त्यसैले चनखो हुनुपर्छ ।’

सर्प संरक्षणका लागि भनेर नेपालमा जिउदो नागको पुजा विरलै हुने गरेको छ । सर्प संरक्षक प्रेम विष्ट दावी गर्दै भन्छन्– ‘नेपालमा नाग पञ्चमीको दिन जिउदो नागको पुजा गर्ने अवसर जुराइदिन स्वयम् सरकार आँट गर्न सक्दैन ।’

नाग पञ्चमीको दिन नेपालमा सपेराले सर्पको पुजा गरेपनि ती सर्पहरुको दाँत निकालिएर अंगभंग बनाइएको हुन्छ । विष्ट दावी गर्दै भन्छन्– ‘भारतका विभिन्न ठाँउबाट सपेरा नेपाल आएर सर्पको तस्करी भारततर्पm गर्छन् । सरकार मौन छ ।’

सर्पले टोकेपछि प्रयोग गरिने एन्टि स्नेक भेनम नेपालमै निर्माण हुनुपर्छ भन्दै अभियानमा लागेको विष्टको भनाइ अनुसार एउटा सर्पले धेरैको ज्यान बचाउन सक्छ ।

विष्टले यस अघि २०६८ सालमा विराटनगर स्थित आप्mनै घरमा जिउदो नाग पुजा गर्ने अवसर स्थानीयलाई दिलाइदिएका थिए ।

शुक्रबार उनले ल्याएका ती सर्प मंगलबारेबाट केही महिनाअघि उद्धार गरिएका गोमन प्रजातिका हुन् । सेक्टर वन कार्यालय मंगलबारेमा वन रक्षकको रुपमा कार्यरत उनी भन्छन्– ‘सर्पसँग माया बसेछ, परिवारको सदस्य जस्तो भएको छ ।’

विगत तिन दशकदेखि सर्प संरक्षण अभियानमा लागेका विष्टले तीन हजार आठ सय बढि गोमन र करेँत प्रजातिका सर्प उद्धार गरेका छन् ।