बेइजिङ, ११ कात्तिक । अफगानिस्तानका राष्ट्रपति असरफ घानी चारदिने औपचारिक भ्रमणका लागि मङ्गलबार चीन पुग्दै हुनुहुन्छ । उहाँ राष्ट्रपति भएपछिको यो नै पहिलो चीन भ्रमण हो ।
यस क्रममा उहाँले यसै वर्षको अन्त्यसम्ममा अफगानिस्तान छोड्ने तयारी गरिरहेको नेटो सैनिक बलपछिको अफगानिस्तानको बारेमा कुराकानी गर्नुहुने भएको बताइएको छ ।
गत एक दशकभन्दा लामो समयदेखि अफगानिस्तानमा रहेको नेटो सैनिकले यसै वर्षको अन्त्यसम्ममा अफगानिस्तान छोड्ने तयारी गरिरहेको छ ।
त्यसपछिको अफगानिस्तानको भविष्यको बारेमा विश्वव्यापी रुपमा चिन्ता छाएका बेला अफगानिस्तानका राष्ट्रपतिले सो विषयमा चीनसँग पनि परामर्श गर्नुहुने छ ।
दशकभन्दा लामो युद्धका कारण जर्जर बनेको अफगानिस्तानमा उहाँ हालैमात्र नयाँ राष्ट्रपतिका रुपमा आउनुभएको हो । घानीले अफगानिस्तानको राष्ट्रपतिका रुपमा गत महिनामात्र सपथ लिनुभएको थियो ।
उच्च सरकारी अधिकारीरुको नेतृत्व गरी चीन जानुहुने राष्ट्रपति घानीले हालैका चीन अफगानिस्तान सम्बन्धका साथै लगानीका नयाँ क्षेत्रहरुको बारेमा पनि छलफल गर्नुहुने भएको बताइएको छ ।
चीन अफगानिस्तान छिमेकी राष्ट्र हुन् । यी दुई देशका बीचमा विगतदेखि नै असल सम्बन्ध रही आएको छ । अफगानिस्तानका कतिपय क्षेत्रमा चीनको लगानी पनि रहीआएको छ ।
त्यसैले आफू राष्ट्रपतिमा निर्वाचित भएपछि उहाँले आफ्नो पहिलो विदेश भ्रमणका रुपमा चीन रोज्नुभएको बताइएको छ ।
विशेषज्ञहरुले यस भ्रमणका क्रममा चीनले अफगानिस्तानलाई आर्थिक सहयोगका साथै लगानीमा पनि सघाउने अनुमान गरेका छन् ।













प्रतिक्रिया