
काठमाडौं, १२ साउन । नेपाल फोरम लोकतान्त्रिक पार्टीबाट जितेन्द्रनारायण देव र गोपाल दहितफेरि पनि मन्त्री बनेपछि पार्टीभित्र भाँडभैलो सुरु भएको छ ।
गच्छदारले जितेन्द्र र गोपाललाई पुनः मन्त्रीमा दोहो-याएका छन् । जितेन्द्रनारायण देवले पर्यटन र गोपाल दहितले भूमिसुधार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
फोरम लोकतान्त्रिकमा दुबैजना अलोकप्रिय मानिन्छन् । फोरम लोकतान्त्रिकका एक केन्द्रीय सदस्यले भने, ‘जितेन्द्रनारायण देव वडाध्यक्षमा पनि हार्ने व्यक्ति हुनुहुन्छ । यस्ता व्यक्तिलाई मन्त्री बनाएर विजयकुमार गच्छादरले कसलाई खुसी बनाउन खोज्नु भएको हो ।’ मन्त्री बन्न नपाएकै झोँकमा जितेन्द्र देवले पार्टी नै विभाजन गर्न ठूलो कसरत गरेका थिए ।
राजनीतिमा माहिर खेलाडी मानिने विजय गच्छदारले फोरम लोकतान्त्रिकलाई दुर्घटनाबाट बचाएका थिए ।
एमाले हुँदै मधेसको राजनीति गर्दै आएका जितेन्द्रनारायण देवलाई भारतीय पक्षसँग नजिक रहेको नेताका रुपमा फोरम लोकतान्त्रिकभित्र आरोप लगाउने गरिन्छ ।
उता, गोपाल दहितका विषयमा त झन् फोरम लोकतान्त्रिकभित्र ठूलै विवाद छ । नाम उल्लेख नगर्ने सर्तमा एकजना पदाधिकारीले भने, ‘पार्टी एकीकरण गरे पनि समानान्तर पार्टी चलाउने । मन्त्री पाइन भने राजनीति नै छाड्छु भन्नेलाई मन्त्री बनाएर अध्यक्षज्यूले ठूलो गल्ती गर्नुभयो ।’ ती पदाधिकारीले भने, ‘जनाधार नै नभएका गोपाल दहितलाई पार्टीमा भित्र्याएर नेता कार्यकर्ताको आलोचना खेप्नु परेको छ ।’
केही दिन अगाडि गोपल दहितलाई मन्त्री बन्नबाट रोक्ने प्रयास भएपछि उनले ‘म मन्त्री बन्न पाइन भने राजनीति नै छाड्छु’ भनेर धम्की दिएका थिए ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनका बेला सहायक मन्त्री बनेका गोपाल दहितसँग पनि कार्यकर्ता छैनन् भन्ने आरोप छ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा गोपाल दहितले आफ्नो गृह जिल्ला बर्दियामा एकजना सदस्य पनि जिताउन सकेनन् । गोपाल दहितका कारण फोरम लोकतान्त्रिकलाई बर्दिया जिल्लामा मत नआएको चर्चा तीनकुनेतिर हुन थालेको छ ।
गोपाल दहितलाई ‘राजाको मान्छो हो’ भन्ने आरोप पहिलादेखिनै लाग्दै आएको छ । यो आरोपको उनले बेलाबेला खण्डन पनि गर्ने गरेका छन् ।
पार्टी एकीकरण भए पनि दहितले सिंहदरबारमा अलग कार्यालय खोलेर बस्दै आएका छन् । उनले पुरानो पार्टी थरुहट तराई पार्टीको नाममा संसद सचिवालयबाट सुविधान लिइरहेका छन् ।
फोरम लोकतान्त्रिक स्रोतले भन्यो, ‘पार्टी एकीकरणको नाटक गर्ने, सिंहदरबारभित्रै समानान्तर संसदीय दलको कार्यालय राख्ने, सबै गतिविधि पुरानो कार्यालयबाट गर्ने, फोरम लोकतान्त्रिकको कार्यालयमा कमै आउनेलाई मन्त्री बनाइनु हुँदैन थियो ।’















प्रतिक्रिया