काठमाडौं (नेपाल)
बस्तीपुर मेरो बाबाले सुनाउनु भएको
कथा–परिकथा हो ।
उहाँको स्मृतिमा टाँसिएका धूलाम्य फ्रेमहरु विस्तारै पुछ्दै
उहाँको लजालू स्वभाव
अव्यक्त प्रेम र प्रथम प्रेमिकाको
कालो लामो कपाल
चञ्चलापनले भरिपूर्ण मन
खलियान छेउका झ्वाम्म परेका
नीमका रुखहरु, आँपका रुखहरु
बाटाका लहरै घरहरु
स्कूल नजिकै मूरी–झिल्ली र कचरीको
भँुडे हलवाहीको पसल
त्यसमा झुम्मी रहने भीडहरु
अनगिन्ती ईच्छा र चाहानाहरु
खाली बगलीमा दुवै हात थाती राख्दै
निर्दोष चोपिएका माटोका
मसीमा बाँसका कप्टेराहरु
निख्खर कालोले पोतिएका काला काठपाटीहरु
हेडमास्टरको भय
होमवर्क नगरेको आतंक र त्रास
ठूलो भान्छाघरको लहरै
बिच्छाइएका पिर्काहरुमा
सबभन्दा पछिल्लो लहरमा बस्दै हेपिँदै
खाने स्वभाव ।
मन्दिरको शंख
र घण्टाको ध्वनीहरु
मन्दिर पोखरीमा झुलन
र कृष्णअष्टमीमा लाग्ने रमाइला मेलाहरु
विभिन्न रंग र तरङ्गका चाड र पर्वहरु
विस्तारै असन्तुष्टीको डंगुर बोकेका
बाङ्गा टिङ्गा आली र डगरहरुमा
डराई–डराई टाढा–टाढा क्षितिजमा
रुमल्लिरहेका अविराम नेत्रहरु
व्यवस्था विरोधी दाजुका
व्रmान्तिकारी पर्चाहरु
दिदीले बनाउनु भएको
कुपोषणको सिकार
सिमान्तकृत बच्चाहरुको मुहार
आफूले वयान गर्न नसकी
भित्र–भित्र गुिम्सएका
अपरिस्कृत कविताका हरफहरु
उहाँको प्रेमीकालाई मायाको जालमा फसाई
सुटुक्क डेटिङ गर्ने उहाँका ईष्र्यालु संगातिहरुका जाली
कुरा र चलाखीहरु ।
गाउँमा अजिङ्गरको छाला काढी
जुत्ता बनाउने बालसखाहरु
बिहानी घरमा बास आउने
कमेरो माटो र गाईका गोबरहरुले लिपिएका संघारहरु
खेतहरुमा हरर बास आउने
मगमग मनै आनन्द हुने
‘करिया कामत’ धानका बालाहरु
प्रथम झरीमा मगमगाउने माटाका
सुगन्धहरु ।
पोखरीमा माछा मार्दा गन्ध
आउने झिंगे माछाहरु
भान्छा आमा र धाई आमाहरुले
ढिकीमा कुटेका आला चिउराका फाँकाहरु
सख्खरमा डुबाएका लड्डुहरु
कहिलेकाहीँ पियर्स साबुनले
मगमगाउने आफ्नो शरीर
धलाम्य र श्रमले पसिना निथ्रुक्क शरीर भएका सखाहरु
पर–पर मिश्री साहुकहाँ चुहाइने
ठर्रा रक्सीका कटका बासहरू
यो कथा मेरो बाबाले सुनाउनु भएको कथा हो
यथार्थ हो ।
उहाँको हजुरआमाको विद्रोह
दुःख–हन्डर र संघर्षका गाथाहरु
आफना छोराहरुलाई शिक्षित र दिक्षीत
गराउने चाहना र सफलताका कथाहरु
उहाँका काकाहरु समृद्ध र प्रसिद्ध भए
राजधानीमा धनी झन् धनी हुँदै
ठुला–ठुला महल ठडाउँदै गए ।
मेरो बाबाको बुबा अर्थात् हजुरबुबा
परिस्थिती र अभावको
मुस्लेधार झरीमा
छालासँगै निथ्रुक्क भिजेर
ओत लाग्ने ठाउँ नपाई
हिँडिरहेका वहाँको बाबाको
दृश्य सबै आफन्तले हेरिरहे, हेरिरहे ।
निरंकुशता र निर्वासनको पीडाले
वनारसमा पढ्दा
वहाँहरुको उच्च शिक्षामा परेका
विभिन्न समस्याहरु
बस्तीपुर मेरो बाबाले सुनाउनु भएको
कथा हो, यथार्थ हो ।
यसरी थुप्रा–थुप्रा बसन्तहरु कुल्चँदै
आज बस्तीपुरले
मलाई सक्कली अनुहार देखाएको छ
पहँेलो र स्वेत जण्डिस र रक्तअल्पताले ग्रसीत
चाउरी परेका बस्तीपुर अचेल
किन किन एकान्त पीडामा
छट्पटीरहेको छ ।
बस्तीपुर थलिएर मरेको नथुनिया धोवीले झैँ
नाडीसम्म छाम्ने कुनै हात पाएन
बस्तीपुर दुखीया चमारझँै
लमतन्न उत्तानो परेको छ
श्वास नली खुम्चीएको छ ।
अन्तिम स्वा…..स्वा…… चलिरहेछ
मानौँ बस्तीपुर काल पर्खिरहेछ ।
दुखीया चमारझैँ बस्तीपुर
प्रत्येक साँझ एक्लै रुन्छ
उस्को एक मात्र छोरो
उहीले साउदी उडिसकेको छ
अब कहिले नर्फकने गरी ।
बस्तीपुर मेरो बाबाले
सुनाउनु भएको कथा हो,
हो मेरो आफ्नै बाबाले सुनाउनुभएको
यथार्थ हो ।
















प्रतिक्रिया