
काठमाडौं । वरिष्ठ गायिका चन्द्रकला शाहले यस पटक आफैले शब्द लेखेको तीज गीतमा स्वर दिइनन् । सधै गाउने गरेकी उनले अन्य गायक/गायिकाका लागि शब्द लेखेकी हुन् ।
गायिका शाहको शब्दमा गायिकाद्वय टीका पुन र देवी घर्ती मगर तथा गायक रवि थापा मगरले स्वर दिएका छन् । उनीहरूको स्वरले गीतमा न्याय गरेको छ । वरिष्ठ गायिका चन्द्रकला शाहले भनिन्, ‘सधै आफूले मात्रै कति गाउने, अरुका लागि पनि त केही गर्नु पर्यो नि ।’
‘तीजमा माइती र चेलीबीचको सम्बन्ध कस्तो रहन्छ भन्नेबारे उल्लेख गरिएको छ’, उनले भनिन्, ‘चेलीले माइती पक्षबाट के आशा गरेका हुन्छन् भन्ने कुरा पनि झल्काउन खोजिएको छ ।’
रेडियो नेपालकी कर्मचारी समेत रहेकी वरिष्ठ गायिका शाहले दिदी–बहिनी र माइती पक्षको संस्मरणलाई गीतमा लेखेकी छिन् । गायिका शाहको शब्दलाई लयमा ढाल्ने काम भने संगीतकार सन्तोष श्रेष्ठले गरेका हुन् । श्रेष्ठले भने, ‘तीजका लागि उपयुक्त गीत बनेको छ ।’
‘माइती र चेली’ बोलको यो तीज गीतको म्युजिक भिडियोमा दीपाशा बिसी, दीक्षा गिरी र प्रकाश भट्टले अभिनय गरेका छन् । नृत्य निर्देशन भने प्रकाश भट्टले गरेका हुन् । म्युजिक भिडियोको छायाँकन करण चैसिर र सम्पादन विष्णु शर्माले गरेका हुन् ।
















प्रतिक्रिया