बेँसीशहर, ६ साउन । आर्थिक वर्ष २०७३/७४ मा लमजुङ जिल्लामा छवटा पर्यटकीय योजना सम्पन्न भएका छन् ।
दुईवटा भ्यू टावर, वैकल्पिक अन्नपूर्ण पदमार्ग मर्मत, बराहपोखरी पदमार्ग निर्माण, क्यानोइङ (छाँगाबरोहण) संरचना र तातोपानी कुण्ड मर्मतका योजना सम्पन्न भएका हुन् ।
स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलका अनुसार अन्नपूर्ण पदमार्गमा रु २० लाख र बराहपोखरी पदमार्ग रु १० लाख खर्च गरिएको छ । अन्नपूर्ण पदमार्गमा मोटरबाटो बनेर पर्यटकलाई समस्या हुन थालेपछि वैकल्पिक पदमार्ग निर्माण शुरु गरिएको हो ।
जिल्लाको उत्तरी भागमा पर्ने पवित्र तीर्थस्थल बराह पोखरी पुग्न समस्या भएपछि पदमार्ग निर्माण गरिएको हो । पर्यटन योजनाअन्तर्गत उत्कृष्ट घरवास ‘होमस्टे’ काउलेपानीमा रु १० लाखको लागतमा भ्यू टावर निर्माण गरिएको छ । करापुमा समेत रु १५ लाखको लागतमा भ्यू टावर निर्माण गरिएको छ ।
ताघ्रिङस्थित स्याँगे झरनामा क्यानोइङ (छाँगाबरोहण) प्रवद्र्धनका लागि रु पाँच लाख खर्च भएको छ । अन्तर्राष्ट्रिय क्यानोइङ महोत्सव गर्ने लक्ष्यका साथ उक्त संरचना निर्माण गरिएको सिग्देलले बताउनुभयो । ताघ्रिङकै जगतस्थित तातोपानी कुण्ड सरसफाइ तथा संरचना निर्माणका लागि रु पाँच लाख खर्च गरिएको छ । रासस















प्रतिक्रिया