
काठमाडौं, २८ असार । नेपाल बैदेशिक रोजगार व्यवसायी संघको प्रथम उपाध्यक्षमा उम्मेदवारी दिएका वैदेशिक रोजगार व्यवसायी प्रज्ञान न्यौपानेले विमल ढकाल नेतृत्वको प्यानललाई मतदान गर्न अपील गरेका छन् ।
यही साउन ३० गते संघको २५औं साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ । त्यसका लागि कांग्रेस निकट व्यवसायीहरूले विमल ढकालको नेतृत्वमा अलग प्यानल खडा गरेका छन् ।
प्रथम उपाध्यक्षमा उम्मेदजवारी दिएका न्यौपानेले भने, ‘वैदेशिक रोजगारी व्यवसायीहरूको हकअधिकार, व्यवस्थित र सुरक्षित व्यवसाय तथा कामदारहरूसँगको सम्बन्धलाई सुमधुर बनाउने मेरा योजनाहरू छन् ।’ दाङ जिल्लाबाट राजधानी आएर वैदेशिक रोजगारीको क्षेत्रमा क्रियाशील न्यौपाने यो क्षेत्रमा लोकप्रिय मानिन्छन् ।
कांग्रेस निकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको अध्यक्ष समेत भइसकेका युवा व्यवसायी न्यौपानेले विमल ढकाल समूहले विजयी हासिल गर्ने दाबी गर्छन् । ‘हामीले पहिलादेखिनै वैदेशिक रोजगार व्यवसायीहरूको हितमा काम गर्दै आएका छौँ’, उनले भने, ‘हाम्रो समूहलाई मतदाताहरूले साथ दिनु हुनेछ ।’
यसैबीच, विमल ढकाल समूहले बुधबार काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा अन्तिम चुनावी कार्यक्रम गरेको छ ।
सो कार्यक्रममा कांग्रेसका महामन्त्री डा.शशांक कोइराला, केन्द्रीय सदस्य बालकृष्ण खाँडसहितका नेताहरू उपस्थित भएका थिए । उनीहरूले विमल ढकाल समूहलाई मतदान गर्न मतदाताहरूसँग आग्रह समेत गरेको न्यौपानेले जानकारी दिए ।
















प्रतिक्रिया