काठमाडौं । चित्रकलाका विषयमा धेरैलाई थाहा छ । तर, चित्र बनाएर नाम, दाम र शान कमाउन सकिन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ ।
नवलपरासी जिल्लाको पहाडी गाउँबाट अध्ययन गर्न राजधानी आएका एकजना युवाले चित्र कोरेरै नाम, दाम र शान कमाएका छन् । राजधानी प्रवेश गर्दा साधारण झोला भिरेर आएका ती युवकको नाम हो ज्योतिप्रकाश विश्वकर्मा ।
अहिले ज्योतिप्रकाशले आफ्नो नाम जस्तै दाम र शान चम्काएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्राज्ञसभा सदस्य समेत रहेका ज्योतिप्रकाशको दैनिकी भनेको चित्रकला कोर्ने नै हो । समय हुनेवित्तिकै उनले ब्रुस र रंग हातमा लिएर चित्र कोर्न बसिहाल्छन् ।
ज्योतिप्रकाशको परिचय आजकाल यतिमा मात्रै सीमित छैन । उनले संगीतमा पनि राम्रो परिचय बनाएका छन् । विभिन्न गीतमा संगीत दिँदै आएका ज्योतिप्रकाशले आफ्नै स्वर र संगीतमा एल्वम पनि ल्याउँदै छन् । ‘जुन र ज्योति’ नामक एल्वममा ज्योतिप्रकाशले पाँच वटा गीतहरू समावेश गरेका छन् । यो एल्वममा ज्योतिप्रकाशको एकल संगीत र स्वर तथा चन्द्र भट्टचनको एकल शब्द रहेका छन् ।
ज्योतिप्रकाशले आफ्नै संगीतमा तीज गीत पनि बजारमा ल्याएका छन् । उनको तीज गीतलाई भने मधु शाहीले लेखेकी हुन् ।

ज्योतिप्रकाशले नेपाली कलासम्बन्धी गीत पनि बनाएका छन् । नेपाली कलालाई केन्द्रमा राखेर पहिलो गीत रेकर्ड गरिएको उनले दाबी गरे । ‘उठौ कलाकार…’ बोलको गीतलाई उनले भव्य कार्यक्रम गरेर बिमोचन गरेका थिए । यसको शब्द मधु शाहीका हुन् । ज्योतिप्रकाश, रुपक खनाल, शीतल पाण्डे र सीता भण्डारीको संयुक्त स्वरमा गीत रेकर्ड गरिएको हो ।
तपाई चित्रकलाको व्यक्ति कसरी संगीतमा लाग्नु भयो भन्ने प्रश्नको जवाफमा ज्योतिप्रकाश भन्छन्, ‘मेरो पेसा भनेको चित्रकला नै हो । तर, सानैदेखिको संगीतप्रतिको रुचिले गीतसंगीततिर लागियो । बेलाबेलामा संगीत भर्ने गरेको छु ।’ ज्योतिप्रकाश संगीतमा लागेको झण्डै १५ वर्ष भइसके छ । उनले सुरुवाती दिनमा किबोर्ड बजाएर संगीत यात्रा थालेका हुन् ।
नेपालमा ललितकलाको अध्ययन र पेसा अंगालेर गरेर गुजारा गर्न सकिन्छ ? भन्ने प्रश्नको जवाफमा ज्योतिप्रकाश भन्छन्, ‘मेरो पहिचान नै ललितकलाले बनाएको हो । राजधानीमा राम्रोसँग बसेको छु । नाम र दाम कमाएको छु । यसलाई तपाई के भन्नु हुन्छ ?’ उनले भने, ‘चित्रकलामा धेरै सम्भावना छ । कसैले ललितकला अध्ययन गर्न चाहन्छ भने निर्धक्क भएर लाग्न सल्लाह दिन्छु ।’ ललितकला अध्ययनका लागि सरकारले छात्रवृत्ति दिने गरेको उनले बताए ।

चित्रकला र संगीतमा सानैदेखिको रुचिलाई ज्योतिप्रकाशले अहिले आएर साकार पार्दै गएको अनुभूति आफूलाई भएको बताए । उनी भन्छन्, ‘४–५ कक्षा पढ्दादेखि नै चित्र बनाउने गर्थे । मेरा सरहरूले मैले बनाएका चित्र रुचाउनु हुन्थ्यो । उहाँहरूकै प्रेरणाबाट ललितकला पढ्न आएको हुँ ।’
हालको बुँदीकाली गाउँपालिकामा रहेको डेढगाउँ माविबाट ज्योतिप्रकाशले एसएलसी गरेका हुन् । उनले ललितकलाबाट डिग्री गरिका छन् ।
चित्रकलाकै कारण थुप्रै देशको भ्रमण गरेका ज्योतिप्रकाशले आफ्ना चित्रकलाहरूको छ वटा प्रदर्शनी गरिसकेका छन् । अब उनले भदौ १७ गते राजधानीमा पुनः अर्को चित्रकला प्रदर्शनी गर्ने जनाए । उनको यो चित्रकला प्रदर्शनीमा देशको चित्र झल्ने तस्बिरहरू रहनेछन् ।
– ज्योतिप्रकाशले संगीत दिएको कलाकारसम्बन्धी गीतको भिडियो
















प्रतिक्रिया