डा कविताराम श्रेष्ठ
आजसम्म तिहारका बारेमा जेजे मान्यता र आस्थाहरू रहि आएका छन्, मैले सबैलाई शीरोपर गरेको छु, गर्दै आएको छु, गर्दै रहने छु । तथापि आफू समाजशास्त्रका विधार्थी भएको नातामा मैले फरक वस्तुगत ढंगले यसलाई अर्थ्याउने पनि गरेको छु ।
क, ख, ग, घ, ङ, अनि ज्ञ सम्मैका धर्महरूमा तपाईं कुन धर्मको अनुयायी हुनुहुन्छ ? यस धर्तीमा मेरो, तपाईंको वा छिमेकी कसैको पनि धर्म सुरू हुन अघि नै यो चाड सुरु थियो भन्ने मेरो भनाइ छ । धार्मिक आस्था, विश्वास कथा आदि पछि त्यहीअनुरूप विकसित भए । म यसमा कुनै धर्म वा विश्वाशहरूको कुरा गर्ने छुइन । जस्तो यो देखिएको छ अर्थात जस्तो तपाईं र मैले देखेको छु त्यसैको आधारमा विवेचना गर्न खोज्दै छु ।
उहिले कृषियुगको सुरुवाततिर हाम्रा पूर्खाहरूको धर्म अहिलेका विकसित धर्महरू भन्दा अलि फरक थिए । उबेला प्राकृतिक परिघटनाका उपादेयताबाट हुरुक्क भएर सबै प्राकृतिक तत्वहरूलाई उनीहरू पूजा गर्थे । घामको तापलाई बरदानै मानी उनीहरू सूर्यको पूजा गर्थे । जीवनका अत्यावश्यक कुराहरू आगो, पानी र वायूको पूजा गर्थे । अन्न उब्जाउने भूमी, बाली सिञ्च्ने नदी, बाली उत्पादनमा सहयोग पुर्याउने हलो, कोदालो, आदी औजारहरू, खाना पकाउन सघाउने चूल्हो आदिलाई उनीहरू पूज्थे ।
उबेला पनि आजकै जस्तो असोज कात्तिकको महिनामा आकाश बादलहीन छ्याङ्ग हुन्थ्यो । गर्मी सेलाएर शीतलता छाएको हुन्थ्यो । खोला संग्लीएर स्वच्छ सुसाइरहेको हुन्थ्यो । वारीपारी पाखा पखेरो र मैदानहरूमा मनोरम हरियाली छाएको हुन्थ्यो । वर्खाको हिलो सुकिसकेको अवस्था हुन्थ्यो । पाखा पखेरो र मैदानहरूमा लतालतिकाहरू रङ्गीबिरङ्गी फूलहरूले सजिएका हुन्थे । आफ्नै उत्पादित फलहरूले लादिएर बिनम्र झुक्दै लतालातिकाहरू आगन्तुक पशुपन्छीहरूलाई सत्कार्दै हावाका झोंकाका तालहरूमा मस्किमस्की नाच्दै भूँइसम्मै झुकिरहेका हुन्थे । पशुपन्छिहरूलाई खार्इ नखार्इ पौल हुन्थ्यो । मोटाएर उधुमै हुन्थे । पाखा पर्वत बेंसी र मैदान सबैसबै उन्मादित पशुपन्छिहरूका उमंगपूर्ण संगीतमयी मृदुल स्वरहरूले पूरै घन्कन्दो हुन्थे । पाखा, पर्बत, बन र मैदानहरूमा पूरै बहार छाएको हुन्थ्यो ।
यता गाउँघरमा पनि त्यस्तै मानवसुलभ उमङ्ग हुन्थ्यो । आजको जस्तो रितिरिवाज र सभ्यता विकसित त थिएन तर मान्छेहरूका उमङ्ग भने उबेला टेन्सनहीन कंचन थियो । उनीहरूका परिश्रमका फल धानबाली पाकेर खेत पहेंलपूर हुन्थे । खेतबारीका कान्ला र घरआँगनका कोठेबारीहरू गोदावरी, सयपत्री र मखमली फूलहरूले पूरै सजिएको हुन्थे । बर्खाभरीको घामपानीको संघर्षमा जुझेर बाली पकाएको विजयोत्सवको दसैं भर्खरै सिद्धिएको हुन्थ्यो । कामको चटारोले नरनाता इष्टमीत्रलाई नभेटेको धेरै भएको हुन्थ्यो र यसै उत्सवमा सबैसंग भेटघाट, खानपिन, आदर सत्कार, भलाकुसारी आदि गरी निब्ट्याएका हुन्थे । त्यसपछि ती हाम्रा पूर्खाहरूले गाउँघरमा अन्न हात परेको खुसियालीमा आजैको जस्तो तिहार मनाउँथे र पांच दिनसम्म मनाउँथे । पांच दिन हुनुको पनि एउटा एउटा अर्थ थिए नै ।
पहिलो दिन थियो कागलाई सत्कार गर्ने दिन । त्यो काग जसले वर्खभरी मरेका मुसा भ्यागुता खाइदिएर गाउँ र घर आँगनका परिसर सफा र दुर्गन्धहीन पारी दिन्थ्यो, त्यो उपकारलाई सम्झेर हाम्रा पूर्खाले उनलाई विशेष प्रकारको खान्की दिंदै सत्कार गरे । मित्र काग सदा हामी वरिपरि नै रहे । हाम्रा परिसरलाई सफा राख्न आजसम्म पनि ती उत्तिकै मित्रवत छन् । सदा तिहारहरूमा उनको पूजा हुनेछ । सत्कार हुनेछ र पहिलो दिनमै हुनेछ ।
दोस्रो दिन थियो कुकुरलाई सत्कार गर्ने दिन । त्यो कुकुर जसले वर्खभरी घर रुंग्यो । घरका सबै मेलापातमा संघर्षशील हुँदा घर हेर्ने जिम्मा उसैको त थियो । घरवार वरपर चोर आउन दिएन, कुखुरा बाख्रा टिप्न आउने श्याल मल्सप्रालाई आउन दिएन । त्यो उपकारलाई सम्झेर हाम्रा पूर्खाले उनलाई विशेष प्रकारको खान्की दिंदै टिका र मालासंगै विधिबत् पूजा र सत्कार गरे । मित्र कुकुर सदा हामीसंगै घरपरिवारकै सदस्यसरह युगौंदेखि आजसम्म पनि साथमा बस्दै आएका छन् । ती उत्तिकै मित्रवत छन् । सदा तिहारहरूमा उनको पूजा हुन्छ । सत्कार हुन्छ ।
तेस्रो दिन थियो गाइलाई सत्कार गर्ने दिन । त्यो गाइले बच्छाबाच्छी दियो । संगै पौल दुध पनि दियो । बाच्छाले खेत जोतिदियो । बाच्छिले अरू बस्तु बढाउन मद्दत गर्यो । त्यतिक्कै जंगल खेतबारीका घाँस पराल भए पुग्ने खासै लगानी नभई फाइदा हुने । बाँचुन्जेल यिनले दुध दिन्थे । दुधबाट अनेक परिकार बन्ने अनि बेच्दा पैसै हुने । बच्छाबाच्छी बेच्दा पनि पैसै हुने यत्तिसम्म कि मरी सकेपछि पनि हाड, छाला सिङ्ग पनि काममा आउने । क्या धन बढाउने यी श्रोत थिए । उनका दिसापिसाब समेत बालिनालीको लागि मल हुने । गाइ भनेपछि उबेलाको समाज हुरुक्कै हुन्थे । आमा समान नै मान्थे । त्यसैले उबेलाका जनले सम्पति जोहो गर्ने भनेको गाइकै पालन गर्नु थियो । गाइनै श्रीसम्पति थिए । त्यसैले यो तेस्रो दिन हाम्रा पूर्खाहरूले यी इत्यादि उपकारलाई सम्झेर उनलाई विशेष प्रकारको खान्की दिंदै टिका र मालासंगै विधिबत् पूजा र सत्कार गरे । युगौंदेखि जोहो भएको श्रीसम्पतिको रूपमा सदा कृषि पेशाका हामीसंगै आजसम्म पनि साथमा छन् । ती उत्तिकै मात्रीवत छन् । सदा तिहारहरूमा उनको पूजा हुने छ । सत्कार हुने छ ।
चौथो दिन थियो गोरुलाई सत्कार गर्ने दिन । गोरुले प्रथमत: बालि जोति दियो । उनैको बलमा यत्रो खेति अघि बढ्यो र परिवारको लागि वर्षभरी खाने अन्न उत्पादन भयो । त्यतिक्कै जंगल र खेतबारीका घाँस पराल भए पुग्ने । खासै लगानी नभई फाइदा हुने । बाँचुन्जेल यिनले खेतबारी जोति दिए । मरी सकेपछि पनि हाड, छाला र सिङ्ग पनि काममा आउने । धन बढाउने यी माध्यम थिए । उनका दिसापिसाबसमेत बालिनालीको लागि मल हुने । त्यसैले यो चौथो दिन हाम्रा पूर्खाहरूले उनलाई विशेष प्रकारको खान्की दिंदै टिका र मालासंगै विधिबत् पूजा र सत्कार गरे । युगौंदेखि श्रीसम्पतिको वृद्धिको यो माध्यमको पशु सदा कृषि पेशाका हामीसंगै आजसम्म पनि साथमा छन् । ती उत्तिकै मित्रवत छन् । सदा तिहारहरूमा उनको पूजा हुने छ । सत्कार हुनेछ ।
पाचौं दिन अन्तिम दिन यो भाइलाई सत्कार गर्ने दिन । भाइ बेगरको गाइ वा गोरुको के अर्थ हुन्थ्यो रु उसले घाँस ल्याउथ्यो र गाइगोरु पालिन्थे । गोरु बलियो हुन्थ्यो र खेत जोतिन्थे । वर्षैभर उसले खेतीपातीमा मेहनत गर्यो । उनकै भरोसामा सम्पूर्ण खेतिकार्य चल्यो । काग पूजिने, कुरकुर पूजिने अनि गाइगोरु पूजिने, भाइ नपूजिने कहाँ हुन्थ्यो र रु त्यसैले यो पाँचौ दिन अर्थात अन्तिम दिन भाइको पूजा हुने दिन बनाए । हाम्रा पूर्खाहरूले उनलाई विशेष प्रकारको खान्की र सामग्रीहरू साथ विशेष प्रकारको विधिसाथ दिदि बहिनीको हातबाट भाइपूजाको विधि चलाए । भाइलाई राडीमा बसाएर उनी बसेको भूमिलाई चारैतिर अटुट जलधाराको सिन्चन गर्दै उनको अभिब्रिद्धिको कमना गरियो र लम्बा आयुको कामानाकोलागि यसै नफुट्ने ओखर, कहिल्यै नसुक्ने तेल, कहिल्यै नओइलाउने मखमली फूलले पूज्दै निधारमा रंगीबिरंगी टिका र मालासंगै विधिबत् पूजा र सत्कार गरे । घर परिवार र खेतीपातीको लागि पुरै आडभरोसा बनेको भाइलाई दिदि बहिनीले पूज्ने रिति कायम गरे र भाईले पनि आफ्ना कमाइ र देउसीबाट संग्रहित मुद्राले दक्षिणा वा भेटी दिने चलन बसाले । आजसम्म पनि यो चलन उत्तिकै निरन्तरित छ । सदा तिहारहरूमा उनको पूजा हुनेछ । सत्कार हुनेछ ।
तिहारका बारेमा धेरै थरि धार्मिक अर्थ र कथाहरू छन् । मैले त्यता नछोई यता यो भने । मेरा यस कथनले कुनै पनि धार्मिक आस्थामा चोट नपुगोस भन्ने कुरामा म पूर्ण सचेत छु । कमिकमजोरी देखिएमा क्षमाप्रार्थी छु । मैले त यसरी यो अन्नको पौल भएको अवस्थामा आड्भरोसाका सहकर्मीलाई पनि कृतज्ञता ज्ञापन गर्ने यी पाँच दिने तिहारको पूजा विधिलाई वस्तुगत अर्थ्याएको हो यसरी पनि हेर्न मिल्छ भन्ने सोच हो । आशा छ, यहाँलाई पनि चित्त बुझेको होस् । तिहारको शुभकामना ।

















प्रतिक्रिया