१ कार्तिक २०८३, आइतबार

नगरपालिकाको सरकारी कुर्सी छोडेर ‘घरको काठे कुर्सी’बाटै काम थाले मेयर ऐरले

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अर्जुन सिंह

(झलारी) कञ्चनपुर, २६ असार । प्रायः राजनीतिक कुर्सीकै लागि गरिन्छ । तर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नवनिर्वाचित मेयर दिलबहादुर ऐरले भने सरकारी कुर्सी त्यागेर काम थालेका छन् ।

नगरपालिकाले उपलब्ध गराएको आरामदायी कुर्सी छोडेर मेयर ऐरले घरबाटै काठको कुर्सी कार्यालय लगी काम थालेका हुन् । कांग्रेसबाट निर्वाचित मेयर ऐरले यो नगरपालिकामा एमालेलाई पराजित गरेका थिए ।

नगरपालिकाले मेयरका लागि कार्यालयमा कुर्सीको व्यवस्था गरेको भएपनि आइतबार सपथग्रहणपछि कार्यभार सम्हालेका मेयर ऐरले घरबाट लगिएको काठको कुर्सीमा बसेर काम थाले । उनले भने– ‘कार्यालयले दिएको सुविधासम्पन्न कुर्सीभन्दा आफूले सधैं बस्दै आइरहेको काठको कुर्सी नै प्यारो लाग्छ ।’ उनले सुविधासम्पन्न कुर्सीभन्दा जनताको जनप्रतिनिधिको हैसियतले जनताको कामलाई प्राथमिकतामा राखेर दिनरात काम गर्ने बताए ।

पदभार ग्रहण लगतै नगरपालिकाका मेयर ऐरको अध्यक्षतामा बसेको बैठकले सुकुम्बासी र आरक्षपीडितका समस्या समाधानका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । ४ बुँदे निर्णयमा सुकुम्बासी र आरक्षपीडितका समस्या समाधानका लागि प्रक्रिया थाल्ने तथा विगत वर्षदेखि नै अव्यवस्थित बसोबास गर्दै आएका व्यक्तिलाई जग्गाधनी प्रमाणपत्रको पूर्जा प्राप्तिका लागि आवश्यक प्रक्रिया थाल्ने उल्लेख गरिएको छ ।

बैठकले १२ वटै वडामा पायक पर्ने स्थानमा वडा कार्यालय स्थापना गर्ने, आवश्यक जनशक्ति पूर्तिका लागि सम्बन्धित निकायमा अनुरोध गर्ने, नदी कटान नियन्त्रणका लागि सम्बन्धित निकायमा पहल गर्ने निर्णय समेत गरेको छ । बैठकले शुक्लाफाँटा नगरपालिका क्षेत्रभित्र पायक पर्ने स्थानमा ५० शैयाको अस्पताल स्थापनाका लागि आवश्यक पहल गर्ने निर्णय समेत गरेको मेयर ऐरले बताए ।