१ कार्तिक २०८३, आइतबार

आफ्नै देशमा नाकाबन्दीमा परेको दार्जिलिङलाई नेपालीको साथ, खाद्यान्न उपलब्ध गराइयो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, २५ असार । आफ्नै देश भारतको नाकाबन्दीमा परेको दार्जिलिङलाई सीमावर्ती नेपालीले खाद्यान्न उपलब्ध गराएर सहयोग गरेका छन् ।

भाषा विवादबाट सुरु भएर गोर्खाल्याण्ड मागका लागि दिनदिनै दार्जिलिङमा चर्किरहेको आन्दोलनलाई देखाएर भारत सरकारले आफ्नै नागरिकमाथि नाकाबन्दी लगाएपछि सीमा क्षेत्रका भारतीयहरु सीमावर्ती नेपाली बजारबाट खाद्यान्न लैजान थालेका हुन् ।

दार्जिलिङ, कालेम्पोङ, मिरिकलगायतका क्षेत्रहरुमा तीन सातादेखि चलेको गोर्खाल्याण्ड आन्दोलनका कारण आम हड्ताल हुनका साथै पश्चिम बंगाल सरकारले प्रहरी र सेना लगाएर पहाडी क्षेत्रमा खाद्यान्न लैजान रोक लगाएपछि भारतीय नागरिकहरु नेपाली बजारमा आश्रित भएको सञ्चारमाध्यमले जनाएका छन् ।

सिलीगुडीबाट पहाडतर्फ खाद्यान्न ढुवानीमा रोक लगाइए पनि झापाको चारआली हुँदै इलामको पशुपतिनगर नाकाबाट दार्जिलिङ प्रवेश गर्न सकिने भएकाले भारतले यो नाका थुन्न सहज छैन । आवश्यक परेका यो नेपाली नाकाबाट सिक्किमसम्म खाद्यान्न ढुवानी गर्न सकिने स्थानीयको भनाई छ ।

पशुपतिनगरको वैधानिक बाटोबाट भारततर्फ खाद्यान्न नलगिए पनि पशुपतिनगर मानेभञ्ज्याङे कच्ची सडकमार्फत् सीमा बजार माने भञ्ज्याङमा दैनिकरुपमा पिकअप भ्यानबाट दाल, चामल लगायतका खाद्यान्न जाने गर्छ ।

लामो बन्द र सरकारी नाकाबन्दीका कारण खाद्यान्न अभाव भएकाले सीमा क्षेत्रका भारतीयहरुले नेपाली बजारबाट खाद्यान्न किनेर लैजाने गरेको स्थानीय बताउछन् ।

यस्तै, दार्जिलिङ लगायत नेपालीहरुको संघन बसोबास भएको क्षेत्रमा गोर्खा जनमुक्ति मोर्चाले गोर्खाल्याण्ड माग गर्दै तीन सातादेखि आम हड्ताल गरेपछि पशुतिनगर बजार पनि पूरै बन्द छ । खाद्यान्नका पसलहरु भने खुलेका छन् ।

सीमा क्षेत्रका बासिन्दाहरुले त्यही पसलहरुबाट खाद्यान्न किनेर लैजाने गरेका छन् । गाडी नचल्ने र भारतीय सुरक्षाकर्मीले तीन जनाभन्दा बढी हिँडडुल गर्न नदिने भएकाले थो–थोरै किनेर लैजाने गरेको पशुपनितगरका व्यवसायी मिलन क्षेत्रीले बताए । दार्जिलिङ लगायत पहाडी क्षेत्रमा खाद्यान्न आउन रोक्ने प्रहरी र सेना नभई पश्चिम बंगाल सरकारको समर्थकहरु रहेको पनि बताइएको छ ।

उता गोजमुमोले भने पश्चिम बंगाल सरकारले दार्जिलिङ, सिक्किमलगायत पहाडी क्षेत्रमा खाद्यान्न र औषधि आयातमा समेत रोक लगाएको जनाएको छ । उसले पश्चिम बंगाल सरकारको यो कार्य अमानवीय भएको भन्दै आपत्ति पनि जनाएको छ ।