– अमरराज पुन
रुकुम, २४ असार । रुकुमका ११ वटा गाविसमा गठित वडा नागरिक मञ्च र नागरिक सचेतना केन्द्रका ४१ जना सदस्यहरु स्थानीय तहको चुनावमा निर्वाचित भएका छन् ।
स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनबाट उनीहरु जनप्रतीनिधिको रुपमा निर्वाचित भएका हुन् । यसअघि जिल्ला समन्वय समिति रुकुमको आर्थिक सहयोग तथा मानव अधिकार संरक्षण तथा कानूनी सेवा केन्द्र हरप्लेस नेपालको सहजीकरणमा स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसिडीपी) कार्यक्रम अन्र्तगत गठित वडा नागरिक मञ्च र नागरिक सचेतना केन्द्रका सदस्यहरु जनप्रतिनिधिमा निर्वाचित भएका हुन् । साविकका गाविस पोखरा, काँडा, रुकुमकोट, चुनवाङ, काँडा, मोरावाङ, छिवाङ, स्यालापाखा, चौखावाङ, पिपल र भलाक्चा गरी ११ वटा गाविसका वडा नागरिक मञ्चका ३५ जना सदस्यहरु जनप्रतिनिधिमा निर्वाचित भएका हुन् ।
त्यस्तै नागरिक सचेतना केन्द्रका ६ जना सदस्यहरु वडा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचित जनप्रतिनिधि मध्ये ६ जना भने वडा अध्यक्षमा निर्वाचित भएका छन् । पहिले–पहिले बोल्न समेत डराउने केही निर्वाचित सदस्यहरु भने वडा नागरिक मञ्च र नागरिक सचेतना केन्द्रमा आबद्ध भएपछि पहिलेको भन्दा सचेत र सुशासनका कुरा गर्नमा सक्षम समेत भएका छन् । समाज परिवर्तन र सुशासनको पक्षमा लाग्दै गर्दा जनप्रतिनिधिमा निर्वाचित भएर जाने सदस्यहरु स्थानीय तहको चुनावमा वडा सदस्यदेखि वडा अध्यक्षसम्मको पदमा निर्वाचित भएका छन् ।
गाउँमा कोही नयाँ मान्छे देख्दा लाजले बोल्न नसक्ने सिस्ने गाउँपालिका रुकुमकोटकी देवी विक यसपटकको स्थानीय तह अन्र्तगत दोस्रो चरणको चुनावमा वडा सदस्यमा निर्वाचित भईन् । त्यस्तै साविकको काँडा गाविसकी सत्यदेवी बुढा पनि वडा सदस्यमा निर्वाचित भईन् । देवी र सत्यदेवी मात्र होईन चुनावमा भिडेका र निर्वाचित समेत भएका सबै सदस्यहरुलाई जनप्रतिनिधिमा निर्वाचित हुने आधार भने वडा नागरिक मञ्च र नागरिक सचेतना केन्द्रले गर्दा नै तयार भएको बुझाई सबै सदस्यहरुको छ ।
अहिले वडा नागरिक मञ्च र सचेतना केन्द्रमा आबद्ध भएका महिला र पुरुष मात्र होईन गाउँका अन्य नागरिकहरुको पनि चेतना स्तरमा वृद्धि भएको छ । पछिल्लो समय गाउँका महिलाहरु हुन् या पुरुष कुनै पनि समस्या पर्दा एकजुट हुने र गाउँको विकासका लागि एकजुट भएर लाग्ने गरेको बताउँछन् । विभिन्न जनचेतनाका कार्यक्रम, घुम्ती सेवा, सरसफाईका कार्यक्रम, समुहको बैठक, समुह बचत, रकम लगानी, बचत, श्रमदान, ऋण लगानी, आमा समुहको बैठक, वडा र गाउँ परिषदपूर्व योजना तर्जुमा सहभागी हुने लगायतका कार्यक्रममा सक्रिय रुपमा लागि परेका छन् । समुहमा आबद्ध भएदेखि अधिकांश पुरुष र महिलाहरुको जीवन स्तर समेत माथि उठेको सदस्यहरु बताउँछन् ।













प्रतिक्रिया