१ कार्तिक २०८३, आइतबार

रमेश लेखकको क्षेत्रमा रोमाञ्चक जितपछि एमालेले निकाल्यो विजयी जुलुस (फोटो फिचर)

6.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर, २४ असार । नेकपा एमालेले कञ्चनपुरको भीमदत्त नगरपालिकामा विशाल विजयी जुलुस निकालेको छ ।

भीमदत्त नगरपालिका नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री रमेश लेखकको निर्वाचन क्षेत्र हो । कांग्रेसकै प्रभावशाली नेताको क्षेत्रमा अन्तिममा रोमाञ्चक जित हात पारेपछि नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटीको आयोजनामा भीमदत्तनगरमा विजयी जुलुस निकालिएको जिल्ला अध्यक्ष तारालामा तामाङले जानकारी दिए । ‘यो खुसीको क्षण हो,’ उनले भने– ‘अब नगरवासीसँग गरेका वाचा पुरा गर्ने बाटोमा अघि बढ्छौं ।’

१९ वडा रहेको जिल्लाकै पुरानो नगरपालिका भीमदत्तमा अन्तिम वडा गन्नुअघि कांग्रेसले अग्रता लिएको थियो । सबैले अनुमान गरेका थिए कांग्रेसले जित्नेभयो । तर, अन्तिममा गणना भएको ९ नम्बर वडाले एमालेलाई जितायो । अन्तिममा एमालेका मेयर उम्मेदवार सुरेन्द्र विष्टले १६६ मत अन्तरको रोमाञ्चक जित हात पारे ।

विष्टले ११ हजार ८३१ मत पाउँदा उनका प्रतिद्वन्द्वी काँग्रेसका पदम बोगटी ११ हजार ६६५ मतसहित पराजित भए । बोगटी २५ सय मतअन्तरले जित्ने दावी कांग्रेसले गरेको थियो । तर, ९ नम्बर वडाले परिणाम उल्टाइदियो ।

यद्यपी उपमेयरमा भने काँग्रेसकी सुशीला सिंह निर्वाचित भइन् । उनी १२ हजार ७७५ मतसहित निर्वाचित भएका हुन । निकटतम प्रतिद्वन्द्वी एमालेका माया पन्त ११ हजार ८३६ मतसहित पराजित भइन् ।

भीमदत्त नगरपालिकामा एमालेले १० वडामा प्यानलै जित हात पारेको छ । काँग्रेसले ७ र नेकपा (माओवादी केन्द्र)ले २ वडाध्यक्ष जितेको छ ।

आफ्नो निर्वाचन क्षेत्रको महत्वपूर्ण भीमदत्त नगर गुमाएका कांग्रेस नेता लेखकले यसअघि आफू मतदाता रहेको वेतकोट नगरपालिका पनि गुमाइसकेका छन् । त्यहाँ एमाले विजयी भएको छ । यसलाई धेरैले आफ्नो बस्ने ठाउँमा हारेका लेखक निर्वाचन क्षेत्रमा हारेको भनेर टिप्पणी गर्न थालेका छन् ।