४ कार्तिक २०८३, बुधबार

तोरीपानीमा टिमुरका बिरुवा वितरण

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, २४ असार । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीका कृषकलाई टिमुरखेती विस्तारका लागि बिरुवा वितरण गरिएको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा म्याग्दी उद्योग वाणिज्य सङ्घले तोरीपानीको भुमेसिद्ध टिमुर सञ्जालमा आबद्ध १५० कृषकलाई चार हजार बिरुवा वितरण गरेको हो ।

टिमुरको उत्पादन वृद्धि गरी अन्तर्राष्ट्रिय बजारमा निकासी गर्ने उद्देश्यले खेती विस्तारमा सघाउन बिरुवा वितरण गरेको सङ्घका कार्यबाहक अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताउनुभयो । सङ्घले ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत पछिल्लो पाँच वर्षयता तोरीपानी, नारच्याङ र दग्नामका कृषकलाई १९ हजार ५०० बिरुवा वितरण भएको थियो ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका उपनिर्देशक सिद्धचरण दाहालले तेस्रो मुलुकमा निकासी गरी विदेशी मुद्रा आर्जनका लागि टिमुरको प्रशस्त सम्भावना देखिएकाले खेती विस्तारमा जोड दिन कृषकलाई आग्रह गर्नुभयो ।

सो कार्यक्रममा तोरीपानीका कृषकलाई टिमुरखेती प्रविधिका बारेमा सहायक वन अधिकृत चन्द्रमणि सापकोटाले तालिम दिनुभएको थियो ।

कृषक सागर बानियाँले टिमुरको बिरुवा र फलको माग उच्च रहेकाले बजारको समस्या नरहेको बताउनुभयो । उहाँका अनुसार गत वर्ष तोरीपानीबाट एक हजार ४०० केजी टिमुर निकासी भएको छ ।

कृषकले टिमुरको बिरुवाको मूल्य बढाउनुपर्ने र निकासीका लागि अनुमति प्रक्रिया सहज बनाउन आग्रह गरेका थिए । जिल्ला कृषि विकास कार्यालयका, कृषि प्रसार अधिकृत बेदनाथ पन्थीले बाँझो जमिनलाई उपयोगमा ल्याउन टिमुरखेती उपयुक्त भएको बताउनुभयो ।

अचार र दालमा मसलाका रूपमा प्रयोग हुने, मुखमा राख्दा रमरम गर्ने स्वाद पाइने टिमुर सुगन्धित तेल र औषधि बनाउनसमेत प्रयोग हुन्छ । जोमसोम, पोखरा, चितवन, काठमाडौंको तारे होटलका साथै अष्टेलिया, अमेरिका र जर्मनीमा टिमुर निकासी हुने गरेको छ । रासस