३ कार्तिक २०८३, मंगलबार

बलिउडमा चलेका अभिनेताले कति लिन्छन् पारिश्रमिक ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउडका स्टारहरू एउटा फिल्ममा अभिनय गरेबापत पारिश्रमिक कति लिन्छन् होला ? यो कुतुहलता आमदर्शकमा छ । फिल्म हिट भयो भने हीरो, हीरोइनले पारिश्रमिक बढाइहाल्छन् । तर, फ्लप भयो भनेचाहिँ घटाउँदैनन् ।

केही यस्ता कलाकार पनि छन्, जो ठूलो ब्यानर, हिट निर्देशकको फिल्म छ भने कम पारिश्रमिकमा पनि अभिनय गर्छन् । तर, नयाँ निर्देशक, नयाँ ब्यानर छ भने चलेका स्टारले पारिश्रमिक निकै कसेर लिने गरेका छन् । अहिले चल्तीमा रहेका केही सेलेब्रिटीले लिने गरेको पारिश्रमिकबारे भारतीय अनलाइनहरूले खोजीनीति गरेका छन् ।

उमेरले ७५ कटिसकेपछि अमिताभ बच्चन अहिले पनि अभिनयमा उत्तिकै सक्रिय छन् । उनी आफ्नो भूमिका र अवधि हेरेर पारिश्रमिक लिने गर्दछन् । भारतीय मिडियाका अनुसार अमिताभले एउटा फिल्ममा अभिनय गरेबापत १२ देखि १५ करोड भारु पारिश्रमिक लिने गरेका छन् ।

महँगो पारिश्रमिक लिने हीरोमा पर्छन, अक्षयकुमार । उनले एउटा फिल्ममा अभिनय गरेबापत कम्तीमा ४० करोड भारु पारिश्रमिक लिने गरेका छन् । कहिलेकाहीँ उनले फिल्मबाट आर्जित मुनाफाको केही प्रतिशत रकम पनि लिन्छन् । जुन हिसाब गर्दा उनको पारिश्रमिक धेरै देखिन्छ । उनले ‘जोली एलएलबी २’ मा अभिनय र मुनाफाको हिस्सा गरेर कुल ५५ करोड भारु लिएका थिए । ‘एअरलिफ्ट’ भने उनले निकै कम पारिश्रमिकमा अभिनय गरेको बताइन्छ ।

अजय देवगन भने अलि लचकदार हीरोमा पर्छन् । उनी फिल्मको बजेटअनुसार आफ्नो पारिश्रमिक तोक्ने गर्दछन् । उनले सामान्यता ३० देखि ४० करोड भारु लिने गरेको बताइन्छ । आफू पनि निर्माता भएकाले कतिपय फिल्ममा भने उनले कम पारिश्रमिकमा पनि काम गरेको पनि बताइन्छ ।

ऋतिक रोशन कम फिल्म गर्न रुचाउँछन् । तर, पनि उनी महँगो पारिश्रमिक लिन्छन् । उनले एउटा फिल्ममा अभिनय गरेबापत ३० देखि ४० करोड भारु पारिश्रमिक लिने गरेका छन् । केही फिल्ममा भने उनले ५० करोडसम्म लिएको मिडियाले उल्लेख गरेका छन् ।

‘बाजीराव मस्तानी’ रिलिजअघि रणवीर एउटा फिल्ममा अभिनय गरेबापत तीनदेखि पाँच करोड भारु पारिश्रमिक लिने गर्दथे । बाजीराव मस्तानीको सफलतापछि उनले आफ्नो पारिश्रमिक ह्वात्तै तीन गुणा बढाएका छन् । उनी अचेल एउटा फिल्मबापत १० करोड भारु ‘डिमान्ड’ गर्ने गर्छन् । तर, उनलाई कुनै निर्माताले १० करोड तिरेको भने खबर आइसकेको छैन ।

वरुण धवनका अहिलेसम्म आठवटा फिल्म रिलिज भइसकेका छन् । उनका कुनै फिल्मले पनि निर्मातालाई घाटा नलगाएको भारतीय मिडियाको दाबी छ । वरुणले एउटा फिल्ममा अभिनय गरेबापत पाँचदेखि सात करोड भारुसम्म पारिश्रमिक लिने गरेका थिए । तर, पछिल्लोपटक आफू अभिनीत ‘बद्रीनाथकी दुल्हनिया’ हिट भएपछि उनले पनि पारिश्रमिक बढाएको खबर छ । उनले आफ्नो रेट १० देखि १२ करोड भारु तोकेका छन् ।

रणवीर कपुरका प्रदर्शित अधिकांश फिल्म फ्लप छन् । फिल्म फ्लप भए पनि उनी आफूलाई भने हिट नै ठान्छन् । उनी एउटा फिल्ममा अभिनय गरेबापत २० देखि २५ करोड भारु पारिश्रमिक माग गर्ने गर्दछन् । ठूला ब्यानर र चर्चित निर्देशकका फिल्म भएचाहिँ उनले १५ करोडमै पनि खेल्ने गरेको बताइन्छ । – एजेन्सी